चिनियाँ कम्पनी पावर चाइनाको काठमाडौं–कुलेखानी–हेटौंडा सुरुङ मार्ग निर्माणमा ९५ प्रतिशत लगानी रहने |

काठमाडौं । नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेड र चीनको पावर चाइना कम्पनीबीच काठमाडौं–कुलेखानी–हेटौंडा सुरुङ मार्ग परियोजनाका लागि सम्झौता भएको छ । उक्त योजना बनाउनका लागि लगानी, विकास, वित्त व्यवस्थापन, निर्माण तथा संचालन व्यवस्थापन गर्न संयुक्त विकास सम्झौता (जेडीए) भएको छ । जेडीए गत साउन ९ गते सम्पन्न भएको कम्पनीले जानकारी दिएको छ ।
पावर चाइनाले नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडको विस्तृत प्राविधिक योजना पुनरवलोकन तथा विगत ३० महिनादेखि पटकपटक आयोजना क्षेत्रको स्थलगत भ्रमण गरेर १३ जनवरी २०१८ मा प्राविधिक प्रस्तावसमेत पेश गरिसकेको छ ।
पावर चाइनाले परियोजनाको सम्पूर्ण लागतको ९५ प्रतिशतसम्म लगानी गर्ने सहमति गरेको छ । साथै, पावर चाइनाले ७५ː२५ अनुपातमा ऋण लगानीका लागि अन्तरराष्ट्रिय वित्तीय संस्थाहरुबाट लगानीको व्यवस्थापन गर्ने जिम्मासमेत लिएको बताइएको छ । यस सडक परियोजनाको सडकको कूल लम्बाइमध्ये ४४ प्रतिशत सुरुङ तथा पुलले ओगट्नेछ । जसका कारण यो आयोजना अझै भूगर्भमैत्री रहने विश्वास कम्पनीले लिएको छ ।
सन् २०१५ डिसेम्बरदेखिको लगातारको आपसी छलफल तथा विचार विमर्शको परिणामस्वरुप नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडले पावर चाइनासँग २०१७ मेमा चीनको बेइजिङमा बेल्ट एण्ड रोड इनिसिएटिभ सम्मेलनको अवसरमा ईसीसी कन्ट्र्याक्टमा हस्ताक्षर गर्न सफल भएको थियो ।