कुलमानलाई सुप्रबल जनसेवाश्री पदक |

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव अनुपकुमार उपाध्याय र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सुप्रबल जनसेवाश्री पदकबाट सम्मानित भएका छन् । राष्ट्रपति कार्यालयमा मंगलवार आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरुलाई सो पदक प्रदान गरेकी हुन् । सरकारले गणतन्त्र दिवस–२०७४ को अवसरमा उपाध्याय र घिसिङलाई उक्त पदक दिने निर्णय गरेको थियो । उपाध्याय प्राधिकरण सञ्चालक समितिका अध्यक्षसमेत हुन् ।
उनीहरुको नेतृत्वमा मुलुकले १३ वर्षदेखि भोगिरहेको लोडसेडिङ हटेको थियो भने समग्र ऊर्जा क्षेत्रको पुनर्संरचना पनि अगाडि बढेको छ । उपाध्यायले लोडसेडिङ अन्त्य, निर्माणाधीन आयोजनाको कामलाई तीव्रता दिनेलगायत कामका लागि प्राधिकरण सञ्चालक समिति अध्यक्षको रूपमा रहेर नीतिगत निर्णय गरेका थिए । सो निर्णयलाई प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले कार्यान्वयनमा लगेका थिए ।
घिसिङले मुलुकलाई लोडसेडिङमुक्त मात्रै गरेनन्, घाटामा रहेको प्राधिकरणलाई नाफामा लैजान, विद्युत् चुहावट ५ प्रतिशतभन्दा बढी घटाउनलगायतका काम गर्न सफल भएका छन् ।