आरिफ अल्भी पाकिस्तानको राष्ट्रपतिमा निर्वाचित |

इस्लामावाद । पाकिस्तानको नयाँ राष्ट्रपतिमा आरिफ अल्भी निर्वाचित भएका छन् । उनी पाकिस्तानका प्रधानमन्त्री इमरान खानको दल तेहरिक–ए–इन्साफका तर्फबाट उम्मेदवार भएका हुन् ।
पाकिस्तानको दुवै संसद् तथा चारवटा प्रान्तीय सभाका सांसदहरूले राष्ट्रपतिका लागि मंगलवार मतदान गरेका थिए । पाकिस्तानमा हाल मामून हुस्सैन राष्ट्रपतिमा छन् ।
पाकिस्तानको निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचनको परिणाम आज प्रमाणित गरेसँगै आरिफ अल्भी निर्वाचित भएको घोषणा गरिनेछ । निर्वाचनमा भाग लिएका पाकिस्तान पिपुल्स पार्टीका ऐजाज अहसनले ८१ तथा पूर्वप्रधानमन्त्री नवाज शरिफको पाकिस्तान मुस्लिम लिग समर्थित मौलाना फज्लुर रहमानले १३१ मत प्राप्त गरेका छन् ।
अल्भीले चारवटा प्रान्तीय सभाबाट पनि सबैभन्दा बढी मत पाएका छन् । विपक्षी दलहरूका तर्फबाट एक जना मात्र उम्मेदवार उठाउने प्रयत्न भए पनि सो सम्भव भएको थिएन । वर्तमान राष्ट्रपति हुस्सैनको कार्यकाल सेप्टेम्बर ९ मा समाप्त भएसँगै नवनिर्वाचित राष्ट्रपति अल्भीले शपथ लिने बताइएको छ ।