कालीमाटी तरकारी बजारबाट निकालियो ६ जना व्यवसायी, बाँकी ९२ को निर्णय भदौ २४ गते |

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले हटाउने भनिएका ९८ मध्ये ६ वटा स्टलको पसल सञ्चालन सम्झौता खारेज गरेको छ । उक्त खारेजसँगै अब ती व्यवसायीले कालिमाटी तरकारी बजारमा स्टल सञ्चालन गर्न नपाउने भएका छन् । मंगलबार बसेको बोर्ड बैठकले तरकारी बजारका ६ जना व्यवसायीलाई हटाउनका लागि उक्त सम्झौता खारेज गरेको हो ।
बैठकले कालीमाटीमा तरकारी स्टल चलाउँदै आएका मोहम्मद जुनैद, इसराफिल कवारी, खुद्रा व्यवसायी पुरुषोत्तम राई, पार्वती श्रेष्ठ, रामबहादुर खड्का र बिष्णुकुमार बस्नेतको अनुमति खारेज गरेको हो । समितिले सोधेको स्पष्टिकरण नबुझाएका कारण उक्त सम्झौता खारेज गरिएको समितिले जानकार िदिएको छ । समितिले एउटा स्टलको भाडा २० हजार तोकेको भए पनि एक लाखदेखि ५ लाखसम्म भाडा लिएर अर्कैलाई चलाउन रहस्य खुलेपछि स्पष्टिकरण सोधिएको थियो ।
बैठकले अनुगमनका क्रममा रातो सूचीमा परेका बाँकी ९२ जनाको स्पष्टिकरण अध्ययन गर्न ५ सदस्यीय कार्यदल पनि बनाएको छ । कार्यदलले भदौ २३ गते प्रतिवेदन बुझाउनेछ र २४ भदौमा फेरि बोर्ड बैठक बसेर उनीहरुका बारेमा पनि निर्णय गर्ने समितिको तयारी छ । कार्यदलमा कृषि मन्त्रालय, किसान आयोग, व्यवसायी, किसान र समितिका तर्फबाट एक एक जना प्रतिनिधि रहेका छन् ।