मुक्तिनाथ विकास बैंक अब जोरपाटीमा पनि | ब्राण्ड एम्बेसडर कुञ्जना घिमिरेको पनि उपस्थिति
काठमाडौं । मुक्तिनाथ विकास बैंकले गोकर्णेश्वर (जोरपाटी) नगरपालिका वडा नं. ५ मा आजदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले उक्त शाखाको उद्घाटन गरेका हुन् ।
उक्त शाखाको उद्घाटन गर्दै प्रमुख अतिथि डेपुटी गभर्नर श्रेष्ठले शाखाको सञ्चालनसँगै सो क्षेत्रका व्यवसायी तथा सर्वसाधारणले सहज रुपमा वित्तीय सेवा पाउन तथा प्रविधिको प्रयोग गरी घरमै बसेर वित्तीय कारोबार गर्न सक्ने बनाउन शुभकामना दिए । उनले मुक्तिनाथ विकास बैंकले कृषि र विपन्न वर्गमा प्रदान गरेको लगानीको प्रशंसा गरे ।
बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युम्न पोखरेलले बैंकको वर्तमान अवस्था र सेवा विस्तारमा बैंकले लिने भावी रणनीतिको बारेमा जानकारी गराएका थिए । उनले बैंकले लिएको समावेशी वित्तीय पहुँच विस्तारलाई अझै विस्तार गरी लघुउद्यम तथा लघु व्यवसाय विस्तारमा जोड दिने बता । बैंकको व्यवसाय वृद्धिसँगै भावी दिनमा सामाजिक उत्तरदायित्वको कामलाई पनि प्राथमिकताका साथ स्थानीय निकायसँग सहकार्य गरी अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा विकास बैंकका ब्राण्ड एम्बेसडर कुञ्जना घिमिरे (सुन्तली), बागमती अभियन्ता उत्तम पुडासैनी, वडा अध्यक्ष नारायण ब. सुवेदी, उपमेयर शान्ति नेपाललगायतको उपस्थिति रहेको थियो ।
आधुनिक बैंकिङ, ग्रामीण बैंकिङ र लघुवित्त सेवा एकैसाथ संचालन गर्दै आएको उक्त बैंकले देशैभरि आफ्ना शाखा सञ्जालहरू विस्तार गर्ने क्रममा सो स्थानमा पनि नयाँ शाखा सञ्चालनमा ल्याएको बैंकले बताएको छ ।
बैंकका हालसम्म उपत्यकाभित्र जोरपाटीलगायत महाराजगंज, कमलादी, सीतापाइला, कुलेश्वर, लगनखेल, न्यूरोड, नयाँ बानेश्वर, चाबहिल, माछापोखरी, कोटेश्वर र भक्तपुरको कमलविनायक गरी १२ शाखा सञ्चालनमा आइसकेका छन् भने ठमेल, कुपण्डोल, इमाडोल, भैंसेपाटी, ठिमी, ढुङ्गेअड्डा, बत्तीसपुतलीमा छिट्टै नै शाखा सञ्चालनमा ल्याउने तयारीमा बैंक रहेको छ ।