अबदेखि वैदेशिक रोजगारीका सबै तथ्यांक एउटै सिष्टममा | अनलाइन सिष्टम आगामी सोमवार सार्वजनिक हुँदै
काठमाडौं । सरकारले वैदेशिक रोजगारीको तथ्यांकलाई चुस्त र दुरुस्त राख्न नयाँ प्रणाली अपनाउने भएको छ । वैदेशिक रोजगारीका सबै तथ्यांकलाई एउटै प्रणालीमा राख्नेगरी सरकारले अनलाइन सिष्टम तयार गरेको हो । सरकारले उक्त अनलाइन सिष्टम आगामी सोमबार सार्वजनिक गर्ने तयारी गरेको छ ।
अब लागू हुने नयाँ प्रणालीले वैदेशिक रोजगार विभागमा फाइल अड्काएर राख्ने कर्मचारीको प्रवृत्ति र मेनपावरले गर्ने ठगीलाई समेत नियन्त्रण गर्ने अपेक्षा सरकारले लिएको छ । अबदेखि श्रम मन्त्रालयल र मातहतका विभाग तथा श्रम कार्यालय, राहदानी विभाग, कन्सुलर विभाग, अध्यागमन, विदेशस्थित नियोग, मेनपावर कम्पनी, स्वास्थ्य परीक्षण संस्था, अभिमुखीकरण केन्द्र सबै एउटै प्रणालीमा हुनेछ ।
पासपोर्ट नम्बर हानेकै भरमा सम्बन्धित व्यक्तिको सम्पूर्ण विवरण एकै ठाउँमा भेट्न सकिनेछ । साथै उजुरी गुनासोसमेत अनलाइन सिष्टममा आवद्ध हुनेछ । अबदेखि कामको फाइल कुन कर्मचारीको टेबलमा पुगेर अड्एिको छ भनेर हेर्न सकिने भएकाले बिनाकारण फाइल अड्काइएमा मन्त्रालयलाई ‘एक्सन’ लिन सजिलो हुनेछ ।
अहिलेसम्म सरकारले विदेश जानेहरूको तथ्यांक राखे पनि काम गरेर फर्किनेहरूको तथ्यांक राख्न सकेको थिएन । आगामी सोमवारबाट विदेशमा रोजगारी गरेर फर्किएकाहरूको पनि तथ्यांक राख्न शुरु हुनेछ ।
अहिलेसम्म सरकारले स्वीकृति लिने संख्यालाई नै विदेश गएको संख्याका रूपमा लिँदै आएको थियो । अब भने कामका लागि श्रमिक भिसामा जाने र त्यहाँबाट काम गरेर फर्किनेको तथ्यांकलाई व्यवस्थित र एकीकृत गर्न लागिएको छ ।
‘कामका लागि विदेश जान सबैको सम्पूर्ण विवरण हामी अनलाइनमा एक क्लिक गर्दा भेटिने गरी राख्दै छौं,’ श्रममन्त्री गोकर्ण विष्टले भने, ‘फर्किनेको पनि यस्तै गरी सम्पूर्ण विवरणहरू व्यवस्थित गरिनेछ ।’
अहिलेसम्म श्रम स्वीकृति लिएर विदेश जानेहरूको संख्या ५० लाखभन्दा बढी भए पनि यसमा श्रम रि–इन्ट्री गरेर जानेको संख्या पनि जोडिएको हुनाले यो तथ्यांकमा दोहोरपना छ । त्यसैले अब विदेशबाट फर्किएकाहरुको पनि व्यवस्थित तथ्यांक राख्ने निश्कर्षमा मन्त्रालय पुगेको हो ।
मन्त्रालयका अनुसार विदेशबाट फर्किएको जनशक्तिलाइृ स्वदेश आउपछि स्वरोजगार गराउने सरकारको नीतिका लागि यो महत्वपूर्ण हुने विश्वास गरिएको छ ।