नबिल बैंकले शैक्षिक कर्जामा गर्यो संशोधन |
काठमाडौं । नबिल बैंकले शैक्षिक कर्जाको प्रक्रियालाई अझै सरल बनाएको छ । बैंकले उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीहरूका लागि प्रदान गरिने शैक्षिक कर्जाको प्रक्रियालाई अझै सरल बनाएको हो ।
बैंकले बताएअनुसार अबदेखि विदेश पढ्न जाने विद्यार्थीहरूले सम्बन्धित कलेज÷विश्वविद्यालयबाट भर्नाका लागि ‘अफर लेटर’ पाउनुअघि नै शैक्षिक कर्जाका लागि बैंकमा आवेदन गर्न सक्ने व्यवस्था मिलाइएको छ । उनीहरूले सम्बन्धित कलेज÷विश्वविद्यालयको पाठ्यक्रम र त्यसका लागि लाग्ने अनुमानित खर्च प्रष्ट पार्ने कागजातसहित बैंकको कुनै पनि शाखामा सम्पर्क गर्न सक्ने बैंकले जानकारी दिएको छ ।
अबदेखि लागू गरिएको नयाँ व्यवस्थाले शैक्षिक कर्जा सेवा प्रदान गर्न अत्यन्त सहज हुने अपेक्षा बैंकको छ । यसबाट विद्यार्थीलाई कर्जा प्रक्रियाका लागि पर्याप्त समय उपलब्ध हुने विश्वास बैंकको छ ।
यसबारे जानकारी गराउने उद्देश्यले बैंकद्वारा आयोजित कार्यक्रममा बैंकका अध्यक्ष शम्भुप्रसाद पौड्यालले शैक्षिक कर्जा सहज बनाउन खोजिएको बताए । बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले विद्यार्थीहरुका लागि अझ राम्रो सेवा प्रदान गर्ने उद्देश्यले शैक्षिक कर्जामा यस्तो व्यवस्था गरिएको बताए ।