३ सय रुपैयाँमा शिक्षा अभियन्ताको बिहे |

काठमाडौं । शिक्षा अभियन्ता उत्तम सञ्जेलले काठमाडौंको गुह्येश्वरी मन्दिरमा अत्यन्त साधारण तरिकाले सुन्दरीजलकी कला अधिकारीसँग सोमवार बिहान बिहे गरेका छन् । सामाजिक अभियन्ता सञ्जेल र अधिकारीले अत्यन्तै कम खर्चमा बिहे गरेर हाम्रो समाजमा रहेका फजुलखर्चीहरूलाई चुनौती दिएका छन् । बेहुला उत्तमले ‘समता स्कुल इण्डिया’ लेखिएको टिसर्ट लगाएका थिए । खुट्टामा चप्पल थियो । बेहुली कलाले रातो कुर्ता–सलवारमा घुम्टो ओढेकी थिइन् । उत्तम सञ्जेलले ४१ वर्षको उमेरमा बिहे गरेका हुन् ।
बिहेमा दुवै पक्षका परिवारका सदस्यहरू उपस्थित थिएनन् । परिवारका सदस्यहरू निम्त्याउँदा ‘उपहार लेनदेन’ को कुरा आउन सक्ने भएकाले नबोलाएको सञ्जेलको भनाइ छ । करिब १ दर्जन व्यक्तिको उपस्थितिमा बिहे सम्पन्न भएको थियो । सञ्जेलले कलालाई सिन्दुर पोते र माला लगाइदिएका थिए । त्यसपछि उनले २ मिनेट बोलेपछि बिहे सम्पन्न भएको थियो ।
पण्डित नबोलाई गरिएको सो बिहेमा आफ्नो जम्मा ३ सय रुपैयाँ मात्र खर्च भएको उत्तमले जानकारी दिएका छन् । ‘२५ रुपैयाँको सिन्दुर, ७५ रुपैयाँको पोते र १ सय रुपैयाँका दुईवटा माला किनेर बिहे सकियो,’ उनले भने । उत्तम र कलाको ४ महिनाअगाडि मात्रै चिनजान भएको हो । उत्तमले सञ्चालन गर्ने १ सय रुपैयाँमा उपचार गरिने समता हस्पिटलमा हेल्थ असिस्टेण्टका रूपमा कला कार्यरत छिन् । कार्यक्षेत्रमै रहेका बेला उनीहरू प्रेममा बाँधिएका थिए । अहिले उनीहरूबीच झाँगिदै गएको प्रेमले अहिले विवाहको रूप लिएको हो ।
मासिक १ सय रुपैयाँमा पठनपाठन गराइने समता स्कुल सञ्चालन गरेर उत्तमले वाहवाही कमाउँदै आएका छन् । उनले सञ्चालन गरेका स्कुल नेपालका ७७ वटै जिल्लाका साथै भारत, श्रीलंका र बंगलादेशमा पनि चलिरहेका छन् । उनले करिब ६५ हजार गरिब विद्यार्थीलाई नर्सरीदेखि नर्ससम्म पढाइरहेका छन् ।