बाजेको सेकुवाको ताला खुल्यो, सञ्चालक अझै प्रहरीको खोजीमै |

काठमाडौं । ३३ किलो सुन प्रकरणलाई लिएर शिलबन्दी गरिएको बाजेको सेकुवा कर्नरको आज शिलबन्दी फुकुवा भएको छ । गृह मन्त्रालयमा आइतवार बसेको बैठकले कर्नरको शिलबन्दी तोड्ने निर्णय गरेसँगै आज ताला खोलिएको हो ।
३३ किलो सुन प्रकरणबारे छानबिन गर्न सरकारले गठन गरेको उच्चस्तरीय समितिले उक्त सेकुवा कर्नरमा गत जेठ ३० गते शिलबन्दी गरेको थियो । अदालतको आदेशअनुसार शिलबन्दी खोलिएको समितिका सदस्य एसएसपी वसन्त लामाले जानकारी दिए ।
सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लको एकल इजलाशले बाजेको सेकुवा शाखाको शिलबन्दी र ब्राण्ड खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।
शिलबन्दी गर्ने सरकारको निर्णयविरुद्ध बाजेको सेकुवाका लगानीकर्ता चेतन भण्डारीकी पत्नी नीतिमा भण्डारीले यही भदौ १० गते सर्वोच्चमा रिट दायर गरेकी थिइन् । उक्त रिटमा सरकारले शंकाको भरमा शाखामा तालाबन्दी हुँदा निर्णय खारेज गर्न माग गरिएको थियो ।
बाजेको सेकुवा कर्नरका काठमाडौंमा रहेका १० वटा शाखामध्ये ६ वटा शाखामा शिलबन्दी गरिएको थियो । उक्त सेकुवाका मालिक चेतन भण्डारीलाई भने प्रहरीले रेडकर्नर जारी गरी खोजी गरिरहेको छ ।