जनता बैंक नेपालद्वारा विद्यालयलाई दुई थान कम्प्युटर सहयोग |
काठमाडौं (आपास) । जनता बैंक नेपालले एक सामुदायिक विद्यालयलाई कम्प्युटर सहयोग गरेको छ । बैंकले काभ्रे जिल्लाको पनौतीस्थित श्री फुलचोकी आधारभूत विद्यालयलाई दुई थान कम्प्युटर सहयोग गरेको हो ।
बैंकका संस्थागत मामिला प्रमुख छविलाल हुमागाईले पनौती नगरपालिकाका प्रमुख भीम न्यौपानेमार्फत विद्यालयका प्रधानाध्यापक केशव हुमागाईंलाई उक्त सामग्री हस्तान्तरण गरिएको बैंकले जानकारी दिएको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग गरेको बताएको छ ।
जनता बैंकले सामाजिक उत्तरदायित्वमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखी कार्य गरिरहेको छ । विशेष गरी ग्रामीण क्षेत्रका महिलाहरुको स्वास्थ्य परीक्षण र पाठेघरसम्बन्धी निःशुल्क अपरेशन तथा सामुदायिक विद्यालयको स्तरोन्नतिलाई दृष्टिगत गरी विद्यार्थीहरूलाई छात्रवृत्ति र शिक्षण सामग्री उपलब्ध गराई सहयोग गर्दै आएको छ । बैंकका अनुसार यस वर्ष पनि देशैभरिबाट सामुदायिक विद्यालयका २ सय विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने र रोल्पा, हुम्लाजस्ता विकट जिल्लामा स्त्री रोगसम्बन्धी तथा आँखाको मोतिया विन्दुको निःशुल्क अपरेशनका लागि स्वास्थ्य शिविर आयोजना गर्ने कार्यक्रम रहेको छ ।
बैंकले हाल देशभर रहेका १ सय २२ शाखा, ४० शाखारहित, २ सीमित्त बैंकिङ एकाइ र २ एक्स्टेन्सन काउण्टरबाट वित्तीय सेवा प्रदान गरिरहेको छ ।