अवैध हुण्डीको कारोबारमा संलग्न पाँच जनालाई गरियो सार्वजनिक | बरामद रुपैयाँसहित सबैलाई आजै राजस्व अनुन्धान विभाग पठाइने

पर्सा । नेपाली मुद्राको अवैध किसिमले ओसारपसार र हुण्डीको कारोबारमा संलग्न रहेको अभियोग लागेका पाँच जना र बरामद रुपैयाँलाई प्रहरीले आज सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साले पत्रकार सम्मेलन आयोजना गरी वीरगञ्जका विभिन्न स्थानबाट बरामद गरिएको ५४ लाख ९६ हजार रुपैयाँ र हुण्डीको कारोबारमा संलग्न भएको अभियोगमा पक्राउ परेकामध्ये पाँच जना अभियुक्तलाई सार्वजनिक गरेको हो ।
प्रहरीले आइतवार अपराह्न्न छापामार्ने क्रममा नियन्त्रणमा लिएका आठ जना व्यक्तिमध्ये तीन जनाको उक्त अवैध कार्यमा संलग्नता नदेखिएपछि तीनलाई छाडिएको बताएको छ ।
वीरगञ्जको घडिआर्व र माईस्थान चोकमा हुण्डीको कारोबार भएको सूचनाका आधारमा प्रहरीले छापा मार्दा स्रोत खुलाउन नसकेको भारी परिमाणमा नेपाली रुपैयाँ बरामद भएको थियो । बरामदका क्रममा प्रहरीले आवश्यक अनुसन्धानका लागि दुई जना भारतीय र तीन जना नेपाली नागरिकलाई नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाले जानकारी दिए ।
प्रहरीका अनुसार उक्त अवैध कारोबारमा संलग्न भएको अभियोगमा पर्साको बिन्दवासनी गाउँपालिका–५ निवासी पवनकुमार गुप्ता, वीरगञ्ज–६ निवासी अजय मानन्धर, बारा सिम्रौनगढ नगरपालिका–१ निवासी अजयकुमार जैशवाल, भारत विहार रक्सौल निवासी अशोक श्रीवास्तव र भारत विहार रामगढवा निवासी साविर मियाँलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो । पक्राउ परेकामध्ये पवनकुमार गुप्ता र अजयकुमार जैसवाल अवैध मुद्राको मुख्य कारोबारी भएको अनुसन्धानबाट खुलेको प्रहरी नायब उपरीक्षक थापाले बताए ।
बरामद गरिएको रुपैयाँ र पक्राउ परेका व्यक्तिलाई आवश्यक कारबाहीका लागि आजै राजस्व अनुसन्धान विभाग हरिहर भवन काठमाडौं पठाउने तयारी भएको प्रहरीले जानकारी दिएको छ ।