नाडा अटोशो भदौ २६ गतेबाट |
काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले भदौ २६ गतेबाट नाडा अटोशो आयोजना गर्ने भएको छ । प्रत्यक वर्ष आयोजना हुदै आएको मेला ३१ गतेसम्म चल्ने छ ।
अटोसो नाडासँगै ग्लोबल एक्सपोजिसन एण्ड म्यानेजमेन्ट सर्भिसेजले संयुक्त रुपमा आयोजन गर्न लागेका छन् । चार पाङ्ग्रे, दुई पाङग्रे र अटो कम्पोनेन्टस्को अत्याधिक मागलाई ध्यानमा राखेर यस बर्ष तीन वटा ह्याङगरहरु राखिएको नाडा अटोशोका संयोजक निराकार श्रेष्ठले जानकारी दिए। ठाउँको अभावका कारण यसपाली हेवी कमर्सियल गाडीहरु प्रदर्शनीमा राखिएको छैन ।
सम्मेलनमा नेपाली अटोमोबाइल क्षेत्रमा भइरहेको आधुनिक एवं प्राविधिक विकासको प्रचारप्रसार प्रबद्र्धन गर्नु मूख्य उद्देश्य रहेको कार्यवाहक अध्यक्ष कृष्णप्रसाद दुलालले जानकारी दिए ।
६ दिनसम्म चल्ने अटोशोमा १९ ब्राण्डका चार पाङ्ग्रे तथा २० ब्राण्डका दुई पाङ्ग्रे सवारी साधनहरु रहने छन्। आयातकर्ता डिलर, उत्पादक तथा विक्रेता गरी यस बर्ष ७१ कम्पनीको सहभागिताका साथै सानाठूला गरी १ सय ३४ वटा ब्लक तथा स्टलहरु रहने छन्। । अटोशोमा सवारी साधनका सथै नयाँ प्राविधिक विकास, सवारी सुरक्षा प्रविधि, स्पेयर पार्टस्, लुब्रिकेन्टस्, टायर, ग्यारेज उपकरण, ब्याट्री तथा अन्य एसोसेरिजहरु राखिने छन्। ।
दुई पाङ्ग्रे र चार पाङ्ग्रेका लागि छुट्टछुट्टै ठाउँमा प्रदर्शनी स्थल तोकिएको छ । प्रदर्शनी स्थलमा जानका लागि विद्यार्थीलाई एक सय ५० रुपैयाँ र बाँकीका लागि २०० रुपैयाँ प्रवेश टिकट मूल्य तोकिएको छ । मेला अवधिभर ६० हजारले अवलोकन गर्ने आयोजकको अनुमान छ ।