जीआईईटीसी–रमनले पायो धरहरा निर्माणको जिम्मा |
काठमाडौं । भूकम्पले क्षतिग्रस्त बनाएको धरहराको पुर्निर्माण अब हुने भएको छ । आइतवार प्राधिकरणले खोलेको टेण्डरअनुसार सबैभन्दा कम ठेक्का प्रस्ताव गर्ने कम्पनीमा जीआईईटीस–रमन रहेको छ । सो कम्पनीले ३ अर्ब ४५ करोड रुपैयाँमा धरहरा पुनर्निर्माण गर्ने प्रस्ताव गरेको छ ।
धरहरा पुनर्निर्माणका लागि सीआईसीओ–कालिका–रसुवा जेभी, जीआईईटीसी–रमन जेभी, जेडआईईसी–लामा जेभी, सीआरफाइभसीईसी–स्वच्छन्द जेभी, आशिष कन्स्ट्रक्सन र कुमार सीएफईसी गरी ६ निर्माण कम्पनीले आवेदन दिएका थिए । तीमध्ये आशिष कस्न्ट्रक्सन प्राविधिक मूल्यांकनबाटै बाहिरिएको थियो । धरहरा पुनर्निर्माणका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बोलपत्र आह्वान गरे पनि टेण्डरमा सहभागी कम्पनी नक्कली भएको भन्दै उजुरी परेपछि ठेक्का प्रक्रिया टुंगिन सकेको थिएन । प्राधिकरणले उजुरीको अनुसन्धानपछि ठेक्का प्रक्रियामा कुनै नक्कली कम्पनी नआएको निष्कर्ष निकाल्दै आइतवार ठेक्काको आर्थिक प्रस्ताव खोलेको हो ।
यसअघि धरहरा पुनर्निर्माण गर्ने जिम्मा नेपाल टेलिकमले लिएको थियो । तर, डिजाइन टुंग्याउन नसकेपछि प्राधिकरण आफैंले निर्माण गर्ने निर्णय गरेको थियो । अब बाहिरबाट हेर्दा ११ तला देखिने गरी २२ तले धरहरा निर्माण हुनेछ । अहिले क्षतिग्रस्त भएको ठुटोलाई सिसाले घेरेर प्रदर्शनीमा राखिनेछ ।