एभरेष्ट बैंकभित्रै सवा दुई लाख चोरी |
रुपन्देही । रुपन्देही जिल्लाको बुटवल बीपीचोकस्थित एभरेष्ट बैंकको शाखा कार्यालयभित्र रकम जम्मा गर्न भौचर भर्दै गरेका एक ग्राहकको २ लाख २३ हजार रुपैयाँ चोरी भएको छ । बुटवल नेपालगञ्ज रोडस्थित दुर्गा प्लाष्टिक हाउसका सञ्चालक दिनेश ज्ञवालीले बैंकको काउण्टरनजिकै भौचर भर्दै गर्दा ३ जनाको समूहमा आएका अज्ञात व्यक्तिले उनको रकम चोरेर भागेका हुन् ।
लुटेराहरूले आज बिहान झण्डै साढे १० बजे पीडित ज्ञवालीको उक्त रकम बैंकभित्रको भौचर भर्ने टेबलबाटै चोरेर भागेको देखिएको इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी डिलबहादुर मल्लले बताए । उनले ज्ञवालीले भौचर भर्दाभर्दै छेउमै राखिएको पैसा तीन जना चोरले लिएर भागेको बैंकको सीसीटीभी क्यामेराबाट देखिएको जानकारी दिए । चोरी गर्नेहरूको खोजी भइरहेको प्रहरीले बताएको छ ।