६ हजार डाक्टरको लाइसेन्स नेपाल मेडिकल काउन्सिलमा बुझाइयो |

काठमाडौ । नेपाल चिकित्सक संघले ६ हजार चिकित्सकको लाइसेन्स नेपाल मेडिकल काउन्सिललाई बुझाएको छ । आज संघले माइतीघर मण्डलामा बिरोध प्रर्दशन गरेको थियो । बिरोध प्रर्दशन पछि संघले आइतबार दिउँसो करिब एक बजे बासबारीस्थित नेपाल मेडिकल काउन्सिल पुगेर कार्यवाहक अध्यक्ष डा. नारायणविक्रम थापालाई लाइसेन्स बुझाएको हो ।
लाइसेन्स बुझाउनेमा संघमा आवद्ध १६ वटा शाखाकै चिकित्सकहरु रहेको बताइएको छ । आज लाइसेन्स बुझाउनेमा संघको १६ वटा शाखामा कार्यरत देशभरीकै करिब छ हजार चिकित्सकहरु रहेको संघले जानकारी दिएको छ । काठमाडौं बाहिर रहेका चिकित्सकहरुबाट लाइसेन्स आउने क्रम जारी रहेको बताइएको छ ।
भदौ १ गतेदेखि लागु भएको मुलुकी अपराध (संहिता) ऐन ०७४ र मुलुकी फौजदारी कार्यविधि ऐन ०७४ मा डाक्टरले लापरवाहीपूर्वक उपचार गर्दा जन्मकैदको व्यवस्था राखिएको विरोधमा डाक्टरहरु विरोध प्रदर्शनमा उत्रिएका हुन । चिकित्सकहरुले सांकेतिक विरोधस्वरुप सबै स्वास्थ्य संस्थाहरुमा आकस्मिक बाहेकका सबै स्वास्थ्य सेवा ठप्प पनि पारेका छन् ।
लाइसेन्स बुझाएपछि काउन्सिलले नै यसबारे प्रक्रिया अगाडि बढाउने छ । यसबारे के गर्ने भन्ने छलफल भइ नसकेको काउन्सिलको भनाई छ ।