रक्सौल–काठमाडौं रेलमार्गको अध्ययन गर्ने समझदारीपत्रमा हस्ताक्षर |

काठमाडौं । रक्सौल–काठमाडौं रेललाइन सम्भाव्यता अध्ययनसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भएको द्विपक्षीय भेटवार्तापछि सो समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
नेपालका तर्फबाट भौतिक पूर्वाधार तथा योजना मन्त्रालयका सचिव मधुसुदन अधिकारी र भारतका तर्फबाट भारतीय राजदूत मञ्जीवसिंह पुरीले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।
यसअघि दुई देशका प्रधानमन्त्रीबीच यो रेलमार्ग अघि बढाउने सहमति भए पनि सरकारीस्तरमा कुनै औपचारिक समझदारी भएको थिएन । प्रधानमन्त्रीहरूबीच यसअघि भएको सहमति कार्यान्वयन गर्ने गरी एमओयू भएको हो ।
भारतले यो रेलमार्गको प्रारम्भिक सम्भाव्यता अध्ययनका लागि फिल्ड वर्क सकिसकेको छ । केही समयभित्रै भारतीय पक्षले प्रारम्भिक रिपोर्ट दिने बताइएको छ । भारतीय रेल्वेका प्राविधिकले जेठ २५ गतेबाट प्रारम्भिक सम्भाव्यता अध्ययन शुरू गरेका थिए । अध्ययनका लागि भारतीय रेल्वेका कन्सल््टेण्टहरु नेपाल आएका थिए ।
वीरगञ्जबाट आउने रेल चोभारसम्म ल्यााउने योजना छ । अध्ययनको सबै खर्च भारतीय पक्षले बेहोर्ने भएपछि रेलमार्ग अध्ययनका लागि विभागले अन्तिम चरणमा पर्याएको कम्पनी छनोट प्रक्रिया पनि स्थगित गरेको थियो । यो रेलमार्ग करिब १ सय १३ किलोमिटर लामो हुने अनुमान छ । यो रेलमार्ग केरुङ हुँदै काठमाडौं आउने रेलमार्गसँग जोड्ने गरी यो रेलमार्ग बनाउन लागिएको हो । यो रेलमार्ग बनाउँदा करिब २० प्रतिशत सुरुङ र पुल निर्माण गर्नुपर्ने अनुमान छ ।