हाम्रो विकास बैंकको १०.३१ प्रतिशत लाभांश दिने प्रस्ताव |
काठमाडौं । हाम्रो विकास बैंकले गत आर्थिक वर्ष (आव) मा गरेको नाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ । बैंक संचालक समितिको साउन १४ गते बसेको बैठकले नगद र बोनस गरी कुल १०.३१ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।
बैंकले २.४० प्रतिशत बोनस शेयर तथा कर सहित ७.९१४५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकको स्वीकृति पश्चात आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई वितरण हुनेछ । गतबर्ष बैंकले ५ करोड ४५ लाख खुद नाफा कमाएर प्रतिशेयर आम्दानी ११ रुपैयाँ ९ पैसा कायम गरेको थियो ।
हाल बैंकको चुक्त्ता पूँजी ४९ करोड २२ लाख रुपैयाँ रहेको छ । बोनसपछि बैंकको चुक्ता पूँजी ५० करोड ४० लाख रुपैयाँ पुग्नेछ । हाम्रो विकास बैंकलाई ज्योति विकास बैंकले एक्वायर गर्देछ । जसका लागि राष्ट्र बैंकले सैद्धान्तिक सहमति समेत दिइसकेको छ ।