चौथो विमस्टेक सम्मलेन सम्पन्न, १८ बुँदे काठमाडौँ घोषणापत्र जारी |

काठमाडौं । १८ बुँदे घोषणा पत्र जारी गर्दै चौथो बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) सम्मेलन सम्पन्न भएको छ । सम्मेलनको दोस्रो दिन सम्मलेनका एजेण्डामाथि छलफल सकेर १८ बुँदे काठमाडौ घोषणापत्र जारी गर्दै सम्मेलन समापन भएको घोषणा गरिएको हो ।
घोषणापत्रमा सातवटै सदस्य राष्ट्रका सरकार प्रमुखहरुले हस्ताक्षर गरेका छन । यसक्रममा ग्रिड इन्टरकनेक्सनका विषयमा बिमस्टेक राष्ट्रहरुबीच एमओयुमा समेत समझदारी भएको छ । यसमा बिमस्टेक राष्ट्रका विदेशमन्त्रीहरु हस्ताक्षर गरेका थिए । सम्मेलन बिहिबारबाट काठमाडौँमा शुरु भएको थियो । आजै बंगलादेश, म्यानमार, थाइल्याण्ड र भारतका सरकार तथा राष्ट्रप्रमुख स्वेदश फर्कने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीलंकाका राष्ट्रपति मैत्रिपाल सिरिसेनालाई बिमस्टेकको अध्यक्षता हस्तान्तरण पनि गरेका छन् । प्रधानमन्त्री ओलीले नेपालले बिमस्टेकको अध्यक्षता ग्रहण गरेयता बितेका साढे चार वर्षमा सबै सदस्य राष्ट्रबाट निरन्तर सहायता प्राप्त भएकामा हार्दिक आभार प्रकट गरेका थिए । साथै उनले नयाँ अध्यक्ष राष्ट्र श्रीलङ्कालाई सफल कार्यकालको शुभकामनासमेत व्यक्त गरे ।