भुक्तानी सेवा दिने संस्थालाई विवरण बुझाउन राष्ट्र बैंकको निर्देशन | वित्तीय विवरण चार महिनामा सक्नुपर्ने निर्देशन
काठमाडौं । भुक्तानीसम्बन्धी काम गर्न अनुमति लिएका इपेमेन्ट, वालेटलगायतका संस्थाले अबदेखि वार्षिक विवरण प्रकाशित गर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले निर्देशन जारी गर्दै असार मसान्तलाई आधार मानेर वार्षिक विवरण प्रकाशित गर्नुपर्ने ब्यवस्था गरेको हो ।
राष्ट्र बैंकको निर्देशनअनुसार संस्थाले वार्षिक आर्थिक कारोबारको लेखापरीक्षण गर्न लेखापरीक्षक नियुक्त गरी त्यसको जानकारी राष्ट्र बैंकलाई दिनुपर्ने भएको छ । संस्था स्थापना भएको पहिलो वर्ष स्थापना मितिदेखि असार मसान्तसम्मको अवधिलाई आर्थिक वर्षको रूपमा लिनुपर्ने र वर्ष सकिएको ४ महिनाभित्र लेखापरीक्षण गरिसक्नुपर्छ ।
लेखापरीक्षण प्रतिवेदन संस्थापकको सञ्चालक समितिबाट निर्णय गरी एक महिनाभित्र राष्ट्र बैंकमा बुझाउनुपर्छ ।