बिमस्टेक कार्ययोजनालाई पूर्ण रूपमा कार्यान्वयन गरिनुपर्छ : प्रम ओली | बिमस्टेक दक्षिणपूर्व र दक्षिण एशियालाई जोड्ने सेतु
काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले बिमस्टेक कार्ययोजनालाई पूर्ण रूपमा कार्यान्वयन गर्नैपर्ने बताएका छन् । उनले बिहीवार बिमस्टेकको चौथो शिखर सम्मेलनको उद्घाटन गर्दै सम्भाव्यताले भरिपूर्ण यस क्षेत्रका राष्ट्रमा समृद्ध प्राकृतिक सम्पदा र क्रियाशील जनसंख्याबाट सिर्जना हुने अनगिन्ती अवसर रहेको बताउँदै यस क्षेत्रका जनतालाई गरिबीको जालो र अभावको दुष्चक्रबाट मुक्त गर्नुपर्नेमा जोड दिए ।
उनले सदस्य राष्ट्रका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखलाई बुद्ध र सगरमाथाको देशमा न्यानो अभिवादनका साथ स्वागत गर्दै संगठनलाई दक्षिणपूर्व र दक्षिण एशियालाई जोड्ने सेतु बनाउनुपर्ने बताए । उनले भने, ‘सहस्राब्दी विकास लक्ष्यअन्तर्गत हासिल गरेका प्रगतिमा लगातार अघि बढ्दै आर्थिक सामाजिक रुपान्तरणका लागि सन् २०३० सम्ममा दिगो विकासका लक्ष्य पूरा गर्ने उद्देश्यका साथ नेपाल अघि बढेको छ ।’
प्रम ओलीले आर्थिक विकासको वाहक व्यापार नै हो भन्दै वस्तु र सेवाको व्यापार, लगानी, भन्सारसम्बन्धी मामिलामा आपसी सहयोग, व्यापार सुविधाका सन्दर्भमा विवादको निराकरणजस्ता विषयमा सहमति आजको आवश्यकता भएको बताए । स्वतन्त्र र स्वच्छ व्यापारप्रतिको प्रतिबद्धता अपरिहार्य रहेको उनको भनाइ थियो ।
बिमस्टेकलाई प्रभावकारी ढंगले अघि बढाउन वस्तु तथा सेवाको व्यापारसम्बन्धी सम्झौता चाँडोभन्दा चाँडो निष्कर्षमा पुग्नुपर्ने बताए । लगानी र भन्सारसम्बन्धी मामिलामा पारस्परिक सहयोग, द्वन्द्व समाधान तथा व्यापार सहजीकरण अहिलेको आवश्यकता भएको उनको भनाइ थियो । बहुपक्षवादमा विस्तारै बढिरहेको अनिश्चितताका बेला विश्वले सामना गरेका चुनौतीको सामना गर्न वैधानिक प्रक्रिया अवलम्बन गर्नुपर्ने बताउँदै उनले सबै देशले आफ्नो उत्तरदायित्व असल नियतका साथ पूरा गर्नुपर्ने बताए ।
नेपालको संविधानले स्थापित गरेको लोकतान्त्रिक संरचनाले पनि नेपालको समृद्धि र नेपाली जनताको सुखीको चाहनालाई सुनिश्चित गरेको बताउँदै प्रधानमन्त्री ओलीले लोकतन्त्र, मानवअधिकार, सुशासन, विधिको शासन, सामाजिक न्यायप्रति नेपालको अटुट प्रतिबद्धता दोहोर्याए ।