पश्चिम सेतीका विषयमा मन्त्री तहबाटै चिनियाँ कम्पनीसँग छलफल शुरू | छलफलमा लगानी बोर्डका सीईओ अधिकारीको पनि सहभागिता

काठमाडौं । पश्चिम सेती जलविद्युत् आयोजनाको समस्या समाधान गर्न अहिले ऊर्जामन्त्रीको अग्रसरतामा ऊर्जा मन्त्रालयमा छलफल भइरहेको छ । लगानी बोर्डले आयोजनाको समस्या समाधान गर्न नसक्ने भएपछि अर्थमन्त्री डा. युवराज खतिवडा, जलस्रोत, ऊर्जा, सिंचाइमन्त्री वर्षमान पुन र चिनियाँ कम्पनीबीच छलफल शुरू भएको हो ।
मंगलबार र बुधवार भएको वार्ताले कुनै निष्कर्ष ननिस्किएपछि आज दुई मन्त्री छलफलमा सहभागी भएका हुन् । छलफलमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) महाप्रसाद अधिकारीको समेत सहभागिता रहेको छ ।
थ्री गर्जेजले सरकारले तय गरेको ७ सय ५० मेगावाटको पश्चिमसेती आयोजनाको विद्युत् खरिदविक्री सम्झौता (पीपीए) आकर्षक नभएको, जग्गा अधिग्रहण, प्रसारणलाइन, लगानी ल्याउने विषयमा जटिलता आएको बताएपछि मन्त्री तहबाट सल्टाउने प्रयास थालिएको हो ।