बिमस्टेक संयन्त्रलाई नतीजामुखी बनाउनुपर्छ : परराष्ट्रमन्त्री ज्ञवाली |

काठमाडौं । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को १६औं मन्त्रीस्तरीय बैठकको अध्यक्षता गरिरहेका मन्त्री ज्ञवालीले बिमस्टेक संयन्त्रलाई नतीजामुखी बनाउनुपर्नेमा जोड दिएका छन् । उनले आज बसेको बैठकमा बिमस्टेकलाई प्रतिबद्धताबाट कार्यान्वयनको चरणमा लैजानुपर्ने बताएका हुन् ।
सो अवसरमा मन्त्री ज्ञवालीले व्यापार तथा पारवहनलाई उच्च प्राथमकितामा राख्नुपर्ने र समृद्धिका लागि देखिने गरिएको उपलब्धि हासिल हुनुपर्ने बताएका छन् । बैठकमा विद्युत् प्रसारण लाइन अन्तरसञ्जाल, इन्फर्मेसन हाइवे, दिगो यातायात सञ्जालजस्ता क्षेत्रमा सदस्य राष्ट्रहरूबीच सहकार्य आवश्यक रहेको धारणा राखे । प्राकृतिक प्रकोप, खाद्य असुरक्षालगायतका जोखीमको सामनाका लागि पूर्वतयारीमा पनि सबैको सहकार्य हुनुपर्ने धारणा थियो ।
बैठकमा नेपालबाट मन्त्री ज्ञवाली, भारतका बाह्य मामिला राज्यमन्त्री भी.के. सिंह, बंगलादेशका विदेशमन्त्री अबुल हसन मोहमद अलि, म्यान्मारका अन्तराष्ट्रिय सहयोगसम्बन्धी संघीयमन्त्री क्याब तिन, श्रीलंकाका विदेश राज्यमन्त्री बसन्ता सेनानायके, थाइल्याण्डका विदेशमन्त्री दोन प्रमुदविनय र भुटानका विदेश सचिव सोनामा छोङ सहभागी रहेका छन् ।