भदौ १४ र १५ गते काठमाडौं उपत्यकाका सम्पूर्ण विद्यालय बन्द |

काठमाडौं (आपास) । सरकारले काठमाडौंमा बिमस्टेक सम्मेलन हुने दिन भदौ १४ र १५ गते सम्पूर्ण विद्यालयलाई बिदा दिएको छ । बिमस्टेक बैठकलाई लक्षित गरी शिक्षा मन्त्रालयले काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा विद्यालयमा विदा दिने निर्णय गरेको हो ।
सरकारले बिमस्टेक सम्मेलनका लागि नेपाल आउने विदेशी पाहुनाको आवागमन सहज बनाउन विद्यालयलाई बिदा दिने निर्णय गरेको हो ।
सवारीसाधनमा जोर बिजोर प्रणाली
साथै, उपत्यकाको सवारी आवागमन सहज बनाउन सरकारले भदौ १३ गतेदेखि तीन दिनसम्म सवारीसाधनमा पनि जोर बिजोर प्रणाली लागू गरेको छ । मंगलवार बसेको सुरक्षा महाशाखाको बैठकले जोर बिजोर प्रणाली लागू गरेको हो । जोर बिजोर नम्बर लागू हुने तीनै दिन राति १० बजेदेखि बिहान ६ बजेसम्म चल्ने गाडीमा भने जोर बिजोर प्रणाली लागू नहुने बताइएको छ ।
त्यस्तै, विमस्टेक सम्मेलनमा खटिने र आमन्त्रित पाहुनाहरू, हवाई सेवामार्फत राजधानी बाहिर जाने यात्रु, अत्यावश्यक सवारीसाधन र सूचना विभागको परिचयपत्र भएका पत्रकारका लागि भने यो नियम लागू नहुने बताइएको छ ।