मेगा बैंक र पायोनियर मोटोकर्पबीच अटो लोनसम्बन्धी सम्झौता |
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेड र पायोनियर मोटोकर्प प्राइभेट लिमिटेडबीच अटो लोनसम्बन्धी सम्झौता भएको छ । दुवै कम्पनीबीच डाट्सन र निशान कम्पनीका गाडीका लागि १० वर्षे अटो लोन प्रदान गर्ने सम्झौता भएको हो । उक्त सम्झौतामा बैंकको तर्फबाट सहायक नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र पायोनियर मोटो कर्पको तर्फबाट सहायक महाप्रबन्धक ज्ञानेन्द्र चन्दले हस्ताक्षर गरेका हुन् ।
बैंकले दुवै संस्थाबीच सरल अटो लोन कर्जाका उपलब्ध गराउनका लागि सम्झौता भएको बताएको छ । उक्त सम्झौताअनुसार पायोनियर मोटो कर्प प्राइभेट लिमिटेडबाट गाडी किन्न चाहने ग्राहकहरूलाई मेगा बैंकले सरल, सहज र सुलभ ब्याजदरमा १० वर्षसम्मको अवधिका लागि वित्तीय सुविधा उपलब्ध गराउनेछ । उक्त सम्झौतामा डाट्सन कम्पनीका गाडीहरू १२ हजार ९ सय ९९ मासिक किस्ता तिर्ने गरी ग्राहकहरूले किन्न सक्नेछन् । यसैगरी, निशान कम्पनीका सबै मोडलका गाडीमा पनि सरल किस्तामै भुक्तानी गर्ने गरी ग्राहकहरूले अटो लोन पाउनेछन् । त्यसका लागि ग्राहकले ३५ प्रतिशत मात्रै डाउन पेमेण्ट गरे पुग्छ ।
बैंकका अनुसार प्रक्रिया शुरू गरेको २४ घण्टाभित्रै निर्णय र ७ कार्य दिनमै कर्जा उपलब्ध गराइन्छ । यो सुविधा मेगा बैंकका देशभरका शाखाहरूबाट लिन सकिनेछ । यो सम्झौतापछि ग्राहकहरूलाई सस्तोमा गाडी लिन सहज हुने बैंकको विश्वास छ ।