बिमस्टेकको १६औं मन्त्रीस्तरीय बैठक जारी | आज काठमाडौं घोषणापत्रलाई अन्तिम रूप दिइने

काठमाडौं । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिमस्टेक) को १६औं मन्त्रीस्तरीय बैठक आज बिहानदेखि जारी छ । बैठकको अध्यक्षता परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गरेका छन् ।
बिमस्टेकको चौथो शिखर सम्मेलन बिहीवार र शुक्रवार काठमाडौंमा हुँदै छ । आज बसेको मन्त्रीस्तरीय बैठकमा सम्मेलनका एजेण्डामाथि छलफल हुनेछन् । बैठकमा सबै सदस्य देशका परराष्ट्र÷विदेशमन्त्रीको सहभागिता रहेको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार आजको बैठकक एजेण्डामा बिमस्टेकका महासचिवको प्रतिवेदन पेश, बुधवारदेखि शुरू हुने शिखर सम्मेलनको तयारीका सम्बन्धमा छलफल, मंगलबार सम्पन्न बिमस्टेकका वरिष्ठ पदाधिकारीको १९औं बैठक तथा विशेष बैठकका प्रतिवेदन पेश हुनेछन् ।
त्यसैगरी, आजको विदेश मन्त्रीस्तरीय बैठकमा बिमस्टेक सम्मेलन तथा समझदारीपत्रको तयारी, चौथो शिखर सम्मेलन र काठमाडौं घोषणापत्रको मस्यौदालाई अन्तिम रूप दिइनेछ र बैठकका कार्यसूची पारित गर्ने र मन्त्रीस्तरीय बैठकको अध्यक्षता हस्तान्तरण पनि आजैको बैठकमा हुनेछ ।
बैठकमा बंगलादेशको नेतृत्व त्यहाँका विदेशमन्त्री अबुल हसन महमुद अलि, भारतको प्रतिनिधित्व त्यहाँका बाह्य मामिला राज्यमन्त्री भी.के. सिंह, म्यान्मारको अन्तरराष्ट्रिय सहयोगसम्बन्धी संघीय मन्त्री क्याव तिन, श्रीलंकाको त्यहाँका विदेश राज्यमन्त्री बसन्ता सेनानायके, थाइल्याण्डको त्यहाँका विदेशमन्त्री दोन प्रमुदविनय नेतृत्व गरेका छन् । बैठकमा भुटानका विदेश सचिव सोनाम छोङले आफ्नो मुलुकको प्रतिनिधित्व गर्नेछन् । भुटानमा आम निर्वाचन घोषणा भएकाले अन्तरिम व्यवस्थामा सचिव छोङलाई मन्त्रीस्तरीय बैठकमा सहभागिताको अख्तियारी प्रदान गरिएको हो ।