कालो धनलाई संरक्षण गर्ने विधेयक आएको भए सच्याउनुपर्छ : गृहमन्त्री बादल |

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले कालो धनलाई संरक्षण गर्ने गरी विधेयक आएको भए संसद्ले छलफल गरेर सच्याउनुपर्ने बताएका छन् । उनले वैयक्तिक गोपनीयतासम्बन्धी विधेयकले भष्टाचार र अवैध कारोबारबाट आर्जन गरेका सम्पत्ति पनि गोप्य राख्न पाउने खालको व्यवस्था गरेको भनी सार्वजनिक रूपमा विरोध भइरहेको प्रसंग निकाल्दै आज संसद्मा त्यस्तो बताएका हुन् ।
विधेयकमाथि संसद्मा उठेका प्रश्नको जवाफ दिँदै उनले भने, ‘ विधेयकले कालो धनलाई संरक्षण गर्छ भन्ने लाग्दैन, सार्वजनिक पदधारण गरेका पदाधिकारीको सम्पत्ति मात्र होइन, उसको जीवन, अन्य पक्ष पनि पारदर्शी हुनुपर्छ ।’ उनले सम्पत्तिको विषय आयकरसँग जोडिएको बताउँदै सार्वजनिक पदाधिकारी मात्र होइन, सबै उद्योगी व्यवसायीका साथै सबै नागरिकको सम्पत्तिबारे सरकारलाई जानकारी हुनुपर्ने बताए ।
सार्वजनिक पदधारण गर्नेहरुले आफ्नो सेवाकालमा आर्जन गरेको सम्पत्ति मात्र नभई अन्य सबै पक्ष सार्वजनिक हुनुपर्ने उनको भनाइ थियो । उनका अनुसार यदि यो विधेयकले सार्वजनिक पदधारण गरेका व्यक्तिहरूको अँध्यारो पक्षलाई ढाकछोप गर्छ भने परिमार्जन गर्न जरुरी छ, यो अधिकार सदनलाई छ ।