त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा सुरक्षा कडा गरियो | साथीभाइ, आफन्त लिएर जान नपाइने, ट्याक्सीलाई पनि गोल्डेन गेटभित्र प्रवेश निषेध
काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा हवाई यात्रुबाहेकका अन्य व्यक्तिलाई प्रवेश गर्न निषेध गरिएको छ । विमानस्थलसम्म एक्लै जान सक्ने व्यक्तिलाई साथमा अन्य आफन्त तथा साथीभाइलाई लिएर नआउन विमानस्थल प्रशासनले आग्रह गरेको छ ।
बिमस्टेक सम्मेलनमा नेपाल आउने अतिविशिष्ट पाहुना अर्थात् विदेशी राष्ट्राध्यक्षहरूको आवागमन र सुरक्षालाई ध्यानमा राख्दै यात्रुबाहेकका व्यक्तिलाई प्रवेश निषेध गरिएको विज्ञप्तिमा उल्लेख छ । हो । साथै, एक्लै जान असक्षम रहेका यात्रुले एक जनासम्म सहयोगी मात्र भित्र लिएर जान सक्ने उल्लेख छ ।
विमानस्थलमा प्रवेश गर्ने यात्रुको गोल्डेन गेटमै कडा सुरक्षा जाँच गरिनेछ । अत्यावश्यक कारणले भित्र प्रवेश गरेका व्यक्तिले पनि १०÷१५ मिनेटभित्रै विमानस्थल छोड्नुपर्ने विमानस्थल प्रमुख राजकुमार क्षत्रीले जानकारी दिए ।
निजी सवारी लिएर जानेले पनि यात्रु छाडेर सिधै फर्किनुपर्नेछ भने ट्याक्सीलाई पनि विमानस्थलको गोल्डेन गेटभित्र प्रवेश गर्न निषेध गरिएको छ । विमानस्थलभित्र प्रवेश अनुमति पास भएकाहरूको हकमा यो नियम लागू नहुने विमानस्थलले जनाएको छ ।
होटल, ट्राभललगायतका गाडीलाई पनि ५ देखि १० मिनेटभित्र यात्रु लिएर विमानस्थल छोडिसक्नुपर्ने नियम बनाइएको छ ।