स्मार्ट लाइसेन्स वितरणमा दुई महिनामै ‘ब्याकलग’ दोब्बरले बढ्यो | अब कहिले पाऊलान् सेवाग्राहीले स्मार्ट लाइसेन्स ?
काठमाडौं । स्मार्ट लाइसेन्स वितरणमा ‘ब्याकलग’ (प्रिन्ट हुन बाँकी) झण्डै दोब्बरले बढेको छ । गत असारमा ३ लाख मात्र भएको उक्त ‘ब्याकलग’ अहिले ५ लाख ८१ हजारभन्दा माथि पुगेको हो । सरकारले असार महिना नलाग्दै दुई महिनाभित्रमा स्मार्ट लाइसेन्सको समस्या सल्टिने बताए पनि मध्यभदौ लाग्दा ‘ब्याकलग’ झण्डै दोब्बरले वृद्धि हुनुले स्मार्ट सवारी लाइसेन्स वितरणमा समस्या झन् थपिएको प्रष्ट हुन्छ । यस्तो अवस्थामा प्रक्रिया पूरा गरेका सेवाग्राहीले लाइसेन्स प्राप्त गर्न अब झन् कति महिना लाग्ने हो, टुंगो छैन ।
यातायात व्यवस्था विभागका महानिर्देशक लावण्य ढकालका अनुसार माग धान्न दैनिक ४ हजार लाइसेन्स प्रिन्ट हुनुपर्नेमा २ हजार लाइसेन्स मात्र प्रिण्ट भइरहेकाले यस्तो समस्या आएको हो । विभागका अधिकारीहरुका अनुसार महिनामा ५० हजार लाइसेन्स पनि प्रिन्ट हुने गरेको छैन । यस्तो अवस्थामा प्रक्रिया पूरा गरेका सेवाग्राहीले लाइसेन्स प्राप्त गर्न महिनौं लाग्ने गरेको छ ।
विभागका अनुसार ५ वटा पुरानामध्ये २ वटा मेशिन मात्र सञ्चालनमा छन् । अरु बिग्रिएर थन्किएका छन् । चलेका मेशिनमा पनि बेलाबेलामा समस्या आइरहन्छ । महानिर्देशक ढकालका अनुसार पुरानो मेशिनको क्षमता १ लाख लाइसेन्स प्रिन्ट गर्ने भए पनि पटक पटक मर्मत गरेर ४ लाख लाइसेन्स प्रिन्ट भइसकेको छ । पुरानो मोडलका प्रिन्टरको उत्पादन बन्द भएकाले सामान मगाएर भए पनि मर्मत गरेर चलाउने प्रयास गरेको उनको भनाइ छ ।
यातायात व्यवस्था विभागले २ महिनाअघि ल्याएका नयाँ ४ वटा मेशिनमा पनि समस्या देखिइसकेको प्राविधिकहरू बताउँछन् । यस्तो अवस्थामा विभागले समस्या समाधानका लागि एकैपटक धेरै कार्ड प्रिन्ट गर्न सक्ने मेशिन किन्नुपर्ने अवधारणा अघि सारेको छ । तर, सबै प्रक्रिया पूरा गर्दा त्यसका लागि पनि ८ महिना समय लाग्ने बताइएको छ । कार्यालयका अनुसार मास प्रिन्टर नआइन्जेल लाइसेन्सको समस्या कायम रहन नदिन प्रिन्टमा आउट सोर्सिङ गर्न सरकारलाई आग्रह गरिएको छ ।
देशभर स्मार्ट लाइसेन्स वितरण गरिने १७ वटै कार्यालयमा अहिले सेवाग्राहीको चाप बढिरहेकाले माग पनि त्यही दरमा बढिरहेको छ ।