सञ्चय कोषले सञ्चयकर्ताको बीमा गर्ने | वार्षिक ६० करोड खर्च गरिने

काठमाडौं । कर्मचारी सञ्चय कोषले सञ्चयकर्ताको स्वास्थ्य बीमा गरिदिने भएको छ । कोषको आम्दानीबाट ६ लाख सञ्चयकर्ताको बीमा गरिदिन लागेको हो । सञ्चयकर्ताको स्वास्थ्य बीमा गर्नका लागि कोषले वार्षिक ६० करोड रुपैयाँ लगानी गर्न लागेको हो । कोषले एक जनालाई न्यूनतम पाँच सयदेखि अधिकतम १ हजार रुपैयाँसम्म बीमा शुल्क लाग्ने अनुमाने छ ।
हाल पनि कोषले सञ्चयकर्तालाई औषधि उपचार सुविधा दिइरहेको छ । यसलाई अझ व्यवस्थित गरी कार्यान्वयनमा लैजान बीमामार्फत उपचार खर्चको व्यवस्था मिलाउन लागिएको कोषको भनाई छ । निःशुल्क बीमा योजनाबाट ठूला र जटिल रोग लागेकालाई उपचार खर्चमा राहत हुने कोषको भनाइ छ ।
रोगको प्रकृतिअनुसार क्षतिपूर्ति रकम फरक हुने छ । यो योजनाअन्र्तगत गम्भीर प्रकृतिको रोग लागेकालाई प्रतिकर्मचारी न्यूनतम ८ लाखदेखि १० लाखसम्म उपचार बीमाबाट हुने व्यवस्था मिलाउन लागेको हो । यस्तै दुर्घटना बीमा न्यूनतम ३ देखि ५ लाख र औषधि उपचार खर्च १ देखि २ लाख रुपैयाँसम्मको ब्यहोर्ने गरी स्वास्थ्य बीमा योजना कार्यान्वयन गर्न लागेको कोषका प्रशासक तुलसीप्रसाद गौतमले बताए ।
कोषको भदौ अन्तिम सातामा हुने वार्षिकोत्सवको अवसर पारेर सञ्चयकर्ताको स्वास्थ्य बीमा योजना सार्वजनिक गर्ने लागेको हो । भदौ अन्तिम साता कोषको वार्षिकोत्सव रहेको छ । कोषले सरकारी स्वामित्व राष्ट्रिय बीमा कम्पनी लिमिटेडमार्फत संचयकर्ताको स्वास्थ्य बीमा गर्ने योजना अघि बढाउन लागेको हो ।
सञ्चय कोषले हाइड्रोपावरमा करिब २७ अर्ब ऋण लगानी गर्ने प्रतिबद्धता गरेकोमा २३ अर्ब रुपैयाँ गरिसकेको छ । उक्त रकम अपर तामाकोसी, साञ्जेन, रसुवागढी र भोटेकोसीमा लगानी भएको हो ।