बिहीवार बिहान त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल साढे २ घण्टा बन्द हुने |

काठमाडौं । बिहीवार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल साढे २ घण्टाका लागि बन्द हुने भएको छ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिमस्टेक) सम्मेलनका लागि विभिन्न राष्ट्रका राष्ट्राध्यक्ष आउने भएकाले उक्त दिन बिहान ८ बजेदेखि साढे १० बजेसम्मका अन्य सबै नियमित उडान बन्द हुने भएको हो ।
विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले भने, ‘बिहीवार उक्त समयमा आन्तरिक तथा अन्तरराष्ट्रिय कम्पनीलाई उडानअवतरण निषेध गर्नका लागि पत्राचार गरिसकेका छौं,’ उनले भने ।
साथै, विमानस्थलमा दुई दिनका लागि निजी तथा व्यावसायिक सवारीसाधन आवतजावतमा समेत कडाइ गरिने र धेरै समय रोक्न नदिइने बताइएको छ । बुधबार श्रीलङ्काका राष्ट्रपति मैत्रिपाल श्रीसेना र भुटानका प्रधानन्यायाधीश तथा सरकारका अन्तरिम सल्लाहकार दसो छिरिङ वाङचुक नेपाल आउनेछन् भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बंगलादेशका प्रधानमन्त्री शेख हसिना र थाइल्याण्डका प्रधानमन्त्री प्रयुट च्यान सम्मेलन उद्घाटनका दिन भदौ १४ मा काठमाडौं आउने कार्यक्रम तय भएको छ ।