रोजगार गर्न चाहने युवाका लागि ५ देखि १० लाखसम्म विनाधितो ऋण |
काठमाडौं । स्वरोजगार बन्न चाहने युवालाई रोजगारी दिन सरकारले विनाधितो ऋण लगानी गर्ने भएको छ । किङ्स कलेजले आयोजना गरेको ‘युनस सोसियल विजिनेस च्यालेञ्ज २०१८’ उद्घघाटन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टल भने, ʽयुवामा श्रम र उद्यमशीलताबाट टाढिने मानसिकताका कारण बेरोजगारीको समस्या बढेको छ ।ʼ
युवा स्वरोजगारका लागि चालू आवमा सरकारले बजेट विनियोजन गरेको जानकारी दिदैं मन्त्री विष्टले उद्यमशील मानसिकताका साथ युवाको सक्रिय सहभागिता हुन जरुरी रहेको बताए । श्रमलाई सम्मान गर्ने मानसिकताको अभावले उद्यमशीलताको विकास हुन नसकेको बताउँदै उनले सामान्य पढेलेखेका युवामा सानो काम गर्नुहुन्न भन्ने नकारात्मक सोच नै चुनौती बनेको बताए ।
सोसियल विजनेस प्रतियोगिताका लागि यो पटक देशका विभिन्न शहरबाट ५५ वटा युवा उद्यमी समूहले आवेदन दिएकामा विभिन्न चरणमा छनोट भई १० वटा समूह अन्तिम प्रतिस्पर्धा पुगेका छन् । यीमध्ये विजेता पाँच समूहलाई विभिन्न पाँच शीर्षक क्रमशः प्रतियोगिताको शीर्षक विजेतालाई एक लाख, दिगो कृषिलाई ४५ हजार, दिगो पर्यटनलाइ ५० हजार, महिला सहभागितालाई ५० हजार र वैकल्पिक ऊर्जालाई ४० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।