बिदा नमान्दा राष्ट्र बैंकको कार्यालयमा प्रदेश सरकारको ताला |

जनकपुरधाम । प्रदेश नं. २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवले राष्ट्र बैंकमा तालाबन्दी गरेका छन् । उनले प्रदेश सरकारको निर्णय अवज्ञा गरेको भन्दै तालाबन्दी गरेका हुन् । प्रदेश सरकारले राजपत्रमै प्रकाशित गरेर भदौ १० गते रक्षाबन्धन तथा जनै पूर्णिमाको बिदा घोषणा गरेको थियो, तर उक्त निर्णय संघीय सरकारमातहतका कार्यालयहरूले अवज्ञा गरेपछि मन्त्री यादव आफै जनकपुरस्थित नेपाल राष्ट्र बैंकको कार्यालय पुगेर तालाबन्दी गरी साँचो नियन्त्रणमा लिएका हुन् ।
संविधानले प्रदेश सरकारलाई बिदा दिन पाउने अधिकार दिएको छ । प्रदेश सरकारले सोही अधिकार प्रयोग गरी बिदा दिने निर्णय गरेको थियो । तर, संघीय सरकारमातहतका कार्यालयहरूले अटेरी गरेपछि बाध्य भएर तालाबन्दी गर्नुपरेको मन्त्री यादवले बताएका छन् । उनले प्रदेश सरकारको निर्णयलाई अटेरी गर्ने जुनसुकै कार्यालयमा तालाबन्दी गर्नेदेखि लिएर कानूनी उपचारसमेत खोजिने बताए ।
भदौ १ गते लागु भएको देवानी कार्यविधि संहिताको दफा ५१ को स्पष्टिकरणले प्रदेश सरकारले समेत सार्वजनिक बिदा दिन सक्ने स्पष्ट कानूनी व्यवस्था गरेको छ ।