‘बृहत तीज व्यापार मेला’ मा दर्शकको भिड | दुई दिनमा २५ हजारले गरे अवलोकन
काठमाडौं । महिला सिर्जनशील केन्द्रको आयोजना तथा इभेन्ट संसार डट कमको व्यवस्थापनमा काठमाडौंको भृकुटीमण्डपमा चलि रहेको ‘बृहत तीज व्यापार मेला २०१८’ मा अवलोकनकर्ताको भिड लागेको छ । हिजो बिहिवारबाट शुरु भएको मेलामा आजसम्म २५ हजार दर्शकले अवलोकन गरेको महिला सिर्जनशील केन्द्रका अध्यक्ष नीरू थापाले जानकारी दिइन ।
भदौ १० गतेसम्म चार दिन सञ्चालन हुने उक्त महोत्सव महिला सिर्जनशिलता र उद्यमशीलतालाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको थापाको भनाई छ । महोत्सवका लागि डाबर नेपालको गुलाबरी रोज वाटरको मुख्य प्रायोजन र महिलाहरूले प्रयोग गर्ने सेफ्टीको सहकार्य रहेको छ ।
सन् २००२ देखि शुरू भएको यो मेला १७ औं हो । २ सयभन्दा बढी स्टल रहेको उक्त तीज महोत्सवको १ लाखभन्दा बढी आगन्तुकले अवलोकन गर्ने आयोजक संस्थाको दाबी छ । आयोजकका अनुसार महिला सिर्जना र उद्यमशिलतालाई प्रोत्साहन गर्ने उद्देश्यले यस पटक पाँच जना महिला व्यवसायीलाई अवार्ड प्रदान गरिनेछ । महोत्सवका अवसरमा निःशुल्क फोटो सुट, निःशुलल्क मेहन्दी आर्ट र निःशुल्क हेयर कटिङलगायतका खाली हात नजाने उपहारहरू पनि राखिएको आयोजकले बताएका छन् ।
महोत्सवमा यस पटक १० वटाभन्दा बढी स्टल असहाय, अशक्त, अपाङ्ग र ग्रामीण क्षेत्रमा रहेका पिछडिएका दिदीबहिनीहरूलाई निःशुल्क प्रदान गरिएको छ । यसका साथै टिकटबाट संकलन भएको रकमको ५० प्रतिशत रकम सामाजिक संस्थालाई प्रदान गरिने आयोजकले जानकारी दिएका छन् ।