निर्वाहका लागि विदेश नै जानुपर्ने बाध्यताको अन्त्य गर्न सरकार योजनावद्ध रूपमै लागेको छ : मन्त्री मगर |
दुवई (युएई) । खानेपानी तथा सरसफाइ मन्त्री बिना मगरले जीवन निर्वाह गर्न वैदेशिक रोजगारमै जानुपर्ने नेपाली युवायुवतीको बाध्यताको अन्त्य गर्न सरकार योजनाबद्ध रूपमै अगाडि बढेको बताएकी छिन् । उनले संयुक्त राष्ट्र इमिरेट्स (युएई) को दुबईमा आजबाट शुरू भएको गैरआवासीय नेपाली संघको मध्यपूर्व सम्मेलनको उद्घाटन गर्दै उक्त भनाइ राखेकी हुन् ।
उनले भनिन्, ‘हरेक नेपाली युवाहरू गास र बासका लागि विदेशिन नपरोस् ।’ सरकार वैदेशिक रोजगारलाई ऐच्छिक बनाउन चाहिरहेको उनको भनाइ थियो । उनले भनिन्, ‘वैदेशिक रोजगार ऐन र नियमावलीलाई कामदारको हितमा हुने गरी संशोधन प्रक्रिया अघि बढाइएको छ ।’
नेपाली कांग्रेसका नेता एवम् पूर्वश्रममन्त्री रमेश लेखकले वैदेशिक रोजगार नेपालीका लागि बाध्यात्मक अनिवार्य भएको बताए । मुलुकमा तत्काल रोजगार सिर्जना गर्न सक्ने स्थितिी नभएको र विदेश नै नजाऊ भन्ने अवस्थामा सरकार नरहेको उनले बताए । घरेलु कामदारका सम्बन्धमा सरकारले मध्यमार्गी बाटो पहिल्याउनुपर्ने उनको भनाइ थियो । उनले भने, ‘देशबाहिर गएर पसिना मात्रै होइन रगत बगाउनुपरेको छ, यो कामलाई मर्यादित र सुरक्षित बनाउनेबाहेक हामीसँग अर्केो विकल्प छैन ।’ महिला कामदारको विषयमा सरकारले विशेष सम्झौता गर्नुपर्ने उनको कथन थियो ।
एनआरएनका अध्यक्ष भवन भट्टले वैदेशिक रोजगारीमा गएका नेपाली कामदारको सामाजिक सुरक्षाका लागि पेन्सन फण्ड बनाई तत्काल लागू गर्न जरुरी रहेको बताए ।
संस्थापक अध्यक्ष उपेन्द्र महत्तोले देशको आर्थिक समृद्धि भए मात्रै नागरिकको समृद्धि हुने बताए । उनले विदेशमा सिकेका ज्ञान र सीपलाई नेपालमा भिब्याउन आवश्यक रहेको बताए ।
गैरआवसीय नेपाली संघका पूर्वअध्यक्ष जीवा लामिछानेले वैदेशिक रोजगारीलाई उच्च प्राथमिकतामा राखेर एनआरएनले काम गर्दै आएको बताए । नेपालले अहिले अदक्ष कामदार पठाइरहेको छ, त्यसलाई दक्ष बनाएर मात्र विदेश पठाउनुपर्ने उनको भनाइ थियो ।
युएईका कार्यवाहक राजदूत सागर फुयालले वैदेशिक रोजगारीमा आउने कामदारलाई सचेतना फैलाउन निकै जरुरी रहेको बताए । त्यसका लागि आवश्यक अभिमुखीकरण तालीम दिन आवश्यक रहेको उनको भनाइ थियो ।
सम्मेलनमा कतार, साउदी अरव, बहराइन, ओमन, कुबेतलगायत देशबाट प्रतिनिधि सहभागी रहेको उक्त सम्मेलन यूएई घोषणापत्र जारी गर्दै शनिवार सकिनेछ ।