निम्बस समूहद्वारा सञ्चालित प्रोवायोटेक प्रालिलाई खाने तेल उत्पादनमा प्रतिबन्ध |
काठमाडौं । वीरगञ्जस्थित निम्बस समूहको प्रोवायोटेक प्रालिअन्तर्गत उत्पादन हुने खाने तेल उत्पादनमा नेपाल सरकारले प्रतिबन्ध लगाएको छ । उक्त कम्पनीबाट उत्पादन हुने खाने तेलमा मापदण्डभन्दा अत्यधिक बढी मात्रामा फ्याट्टी एसिड भेटिएकाले उत्पादनमा प्रतिबन्ध लगाइएको वाणिज्य, आपूर्ति तथा उपभेक्ता हित संरक्षण विभागले बताएको छ ।
उक्त कम्पनीले भटमास, सूर्यमुखी र तोरीको तेल उत्पादन गर्दै आएको थियो । विभागका महानिर्देशक योगेन्द्र गौचनले साउन २३ गते लिइएको नमूना जाँचको रिपोर्ट आएपछि उद्योगको उत्पादन बन्द गर्न जिल्ला प्रशासन कार्यालयको टोलीलाई पठाइएको बताए । तेल मापदण्डविपरीत हुँदा मानव स्वास्थ्यमा गम्भीर असर पर्ने भएकाले उत्पादन बन्द गराउने निर्णय भएको उनले बताए । सो कम्पनीबाट उत्पादित तेलको नमूना आपूर्तिमन्त्री मातृका यादव आफैं वीरगञ्ज पुगेर अनुगमन गर्ने क्रममा ल्याइएको थियो ।