एप्पलले नयाँ भर्सनमा ल्याउँदै छ ‘म्याकबुक एयर’ |
काठमाडौं । विश्वप्रसिद्ध ब्राण्ड एप्पलले अक्टोबरमा आफ्नो नयाँ ‘म्याकबुक एयर’लाई सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीले सेप्टेम्बरमा नयाँ आइफोन सार्वजनिक गरेपछि केही दिनको अन्तरालमै लोकप्रिय म्याकबुक एयर ल्यापटपलाई रिडिजाइन गरी नयाँ भर्सनका साथ सार्वजनिक गर्ने तयारी गरेको हो ।
सस्तो मूल्यको ल्यापटप चलाउने उपभोक्ताको चाहना पूरा गर्दै एप्पलले ३ वर्षपछि पछिल्लो ‘म्याकबुक एयर’मा महत्वपूर्ण अपडेट गर्न लागेको हो । पछिल्लो समयमा म्याक कम्प्युटरको विक्रीमा १३ प्रतिशतले कमी आएपछि कम्पनीले यस्तो कदम चालेको हो । पछिल्ला तीन महिनामा एप्पलले जम्मा ३७ लाख मात्रै म्याकबुक विक्री गरेको थियो, जुन सन् २०१० पछिकै सबैभन्दा थोरै हो ।
अब सार्वजनिक गर्ने भनिएको म्याक बुकको डिजाइन पहिलाको जस्तै भए पनि प्रोसेसर तीव्र गतिमा चल्ने बनाइएको छ । यसमा अल्ट्रा हाई डेफिनेशन रेटिना स्क्रिन छैन । पछिल्लो समयमा एप्पलले आफ्नो उच्च मूल्यको ‘म्याकबुक प्रो’लाई अझै परिष्कृत गरी अझ आकर्षक बनाएको छ भने नयाँ सानो मोडल ‘म्याक बुक’ पनि बजारमा ल्याएको छ । तर पनि मानिसहरूले ‘म्याक बुक एयर’ नै मन पराएका छन् ।
एयर मोडलको शुरुवाती मूल्य ९ सय ४९ पाउण्ड छ, जुन म्याकबुक र म्याकबुक प्रोभन्दा धेरै सस्तो हो । ब्लुमबर्गका अनुसार नयाँ ‘म्याकबुक एयर’मा १३ इन्चको स्क्रिन रहनेछ र यसलाई रेटिना रिजोलुशनमा अपग्रेड गरिनेछ ।