चिनिया प्रविधिको मकै उत्पादन गर्न तालिम |

काठमाडौं । मकै उत्पादन तथा त्यसको उत्पादकत्व बढाउने र दक्ष जनशक्ति तयार गर्ने उदेश्यले राजधानीमा एक तालिमको आयोजना गरिएको छ । हाइब्रिड मकै उत्पादनसम्बन्धी विभिन्न प्रविधिका बारेमा जानकारी दिन आयोजित सो तालीममा कृषि मन्त्रालय, कृषि विभाग, नार्क र सरकारी एवं निजी बीउबिजन उत्पादक कम्पनीका विज्ञ, वैज्ञानिक र प्राविधिकलगायत ३५ जनाको सहभागिता छ । नेपालमै मकैको हाइब्रिडको बीउ उत्पादन हुनसक्ने तालीममा सहभागीले जानकारी दिएका छन् ।
यस तालीम सञ्चालाका लागि चीन सरकारको वाणिज्य मन्त्रालयले नेपाल सरकारलाई सहायता प्रदान गरेको थियो । जस अनुरुप कृषि मन्त्रालयअन्तर्गतको नेपाल कृषि अनुसन्धान परिषद (नार्क) र चीनको युआन लोङपिङ हाइटेक कृषि कम्पनीले सामूहिक रूपमा कार्यक्रम गरिरहेका छन् । तालीममा दुईदेशका विज्ञबीच मकैको उत्पादन र उत्पादकत्व बढाउन चिनियाँ प्रविधिसहितको विविध विषयमा ज्ञान, अनुभव र प्रविधि साटासाट गरिएको छ ।
पछिल्लो समय मकै खाद्य बालीका साथै नगदेबालीका रूपमा समेत स्थापित हुनुका साथै नेपालमा धानपछिको दोस्रो महत्वपूर्ण बालीको रूपमा लिइएको छ । मकैले सिङ्गो बालीजन्य उत्पादनको २० प्रतिशत हिस्सा ओगटेको छ भने पहाडी किसानका लागि मकैखेती जीवन निर्वाहको महत्वपूर्ण आधार बनेको जानकारहरूको भनाइ छ ।
नेपालमा झण्डै आठ लाख ५० हजार हेक्टर जमीनमा मकैखेती गरिने र प्रत्येक वर्ष १५ लाखदेखि १७ लाख मेट्रिक टनसम्म उत्पादन हुने गरेको छ । व्यापक प्रयासका बीच पनि नेपालमा मकै उत्पादन र उत्पादकत्वमा उल्लेख्य प्रगति नभएको सन्दर्भमा यो तालीम उपयोगी हुने चर्चा गर्दै चिनियाँ वैज्ञानिक वाङले यो तालीम नेपालमा पहिलो पटक भएको र चीनको सहकार्य निरन्तर रहने बताए ।
तालीममा मकैको ब्रिडिङ प्रविधि, उत्पादन प्रविधि, उच्च गुणस्तरसहितको मकै लगाउने तरिका र मकै पाकेपछि गरिने प्रशोधन प्रविधिकाबारे छलफल, अनुभव साटासाट, अन्तरक्रिया गरिने बताइएको छ ।