उपत्यकाका घरका छानाबाट ६ सय मेगावाट सौर्य बिजुली |
काठमाडौं । उर्जा विकास परिषद्ले गरेको अध्ययन अनुसार काठमाडौं उपत्यकामा रहेका घरका छानाबाट ६ सय मेगावाट सौर्य उर्जा उत्पादन गर्न सकिने देखिएको छ ।
उपत्यकका २० प्रतिशत घरमा मात्र सोलार प्यानल राख्दा ६ सय मेगावाट बिजुली उत्पादन गर्न सकिने परिषद्का कार्यकारी सदस्य तथा सरल उर्जाका प्रमुख कार्यकारी आशिष चालिसेले बताए ।
सन् २०११ को तथ्यांकमा उपत्यकमा ८ लाख घर रहेको र अहिले त्यो बढेर १० लाख पुगेको चालिसेले बताए । त्यसको २० प्रतिशत अर्थात २ लाख घरका छानामा मात्र सोलार प्यानल राखेर उत्पादन गर्दा ६ सय मेगावाट विजुली उत्पादन हुने परिषद्द्वारा आयोजित कार्यक्रममा चालिसेले जानकारी दिए । विशेषगरी ठुला व्यावसायिक कम्प्लेक्सहरु रुफ टफ नेट मिटरिङमा इच्छुक भएको उनको भनाइ छ ।
उपभोक्ताको घरमा जोडिएका त्यसता सोलारलाई ग्रिडमा जोड्ने र त्यसरी दिनभर उत्पादन भएको बिजुली प्राधिकरणले लिने राति उपभोक्ताले खपत गरेको बिजुलीको हिसाब पैसाको हिसाब मिलाउने व्यवस्था नेट मिटरिङ हो । तर अहिलेको कानूनी व्यवस्थाले प्राधिकरणले बिजुलीकोमात्र मिटरिङ गर्ने, उपभोक्तालाई पैसा फिर्ता गर्ने व्यवस्था यसमा बाधक रहेको चालिसेको भनाइ छ ।
प्राधिकरणले घरायसी खालको नेट मिटरिङ शुरु गरिसकेको र अहिलेसम्म उपत्यकामा २० जना ग्राहक यसमा जोडिएको विद्युत प्राधिकरणका कार्यकारी अधिकृत कुलमान घिसिङले जानकारी दिए । अहिले नेट मिटरिङ जहाँ बिजुलीको मात्र मिटरिङ हुन्छ । उपभोक्ताको विजुली खपतभन्दा धेरै भएमा पैसा दिने व्यवस्था मनी मिटरिङको व्यवस्था भने हाल नभएको उनले बताए । यद्यपी यसको तयारी प्राधिकरणले सुरु गरिसकेको उनको भनाइ छ ।