नागढुंगा–कलंकी सडकखण्ड झिलीमिली बन्दै, सडक विस्तार कार्य छिटो सक्न नगरप्रमुखको आग्रह |
काठमाडौं । काठमाडौंको सबैभन्दा ठूलो नगरपालिका चन्द्रागिरी नगरपालिकाका नगरप्रमुख घनश्याम गिरीले आफ्नो नगरपालिकाले सडकखण्डको दायाँबायाँ करिब १ हजार २ सय सोलारबत्ती जडान, वृक्षरोपण एवम् नगरबस सञ्चालनको अन्तिम तयारीमा जुटेको बताएका छन् । त्यसका लागि कलंकी–नागढुंगा सडक विस्तार कार्य छिटो सम्पन्न गर्न सरकारसँग आग्रह गरेका छन् । उनले सरकारले आवश्यक बजेट र निर्माणको अख्तियारी दिएमा तीन महिनाभित्र उक्त सडकखण्डको निर्माण कार्य सम्पन्न गर्न नगरपालिका तयार रहेको पनि बताएका छन् ।
नगरप्रमुख गिरीका अनुसार नगरपालिकाले उक्त सडकखण्डमा वृक्षरोपण एवम् घरधनीलाई एकै किसिमको रङ लगाउन लगाई आकर्षक बनाउने तयारी गरेको छ । साथै, यात्रु चढ्ने र ओर्लिने स्थानमा विद्युतीय स्मार्ट प्रतीक्षालय निर्माण गर्ने तयारी पनि गरेको छ ।
एक वडा एक उद्यान, नगरक्षेत्रमा सुपथ मूल्य पसल सञ्चालन, जमीन बाँझो राख्नेलाई कर लगाउने, एक घर दुई बिरुवा नीतिमा कडाइ, सामुदायिक अस्पताल निर्माण, नगरपालिकाभित्रका परम्परागत एवम् जीवन्त बाजा, पर्व संरक्षण तथा प्रवद्र्धन गर्ने नीति पनि नगरपालिकाले लिएको छ । सो नगरपालिकाले सामाजिक सेवासँग सम्बन्धित सबैखाले सिफारिशलाई निःशुल्क बनाएको छ ।