नास्टमा नयाँ उपकुलपति नियुक्त गरिँदै, लामिछाने, भुजू र श्रेष्ठलगायतका प्राज्ञ चर्चामा |
काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठान (नास्ट) मा नयाँ उपकुलपति नियुक्त गरिँदै छ । हालका उपकुलपति जीवराज पोखरेलको पहिलो पदावधि यही भदौ १४ गते सकिने भएकाले नयाँ उपकुलपति को बन्ला भन्ने चर्चा शुरू भएको हो ।
नयाँ उपकुलपतिका लागि प्रमुख दाबेदारमा प्रोफेसर डा. जनार्दन लामिछाने, डा. दिनेश भुजू, डा. सुनीलबाबु श्रेष्ठ र प्रोफेसर डा. रमेशकुमार मास्के रहेका छन् । त्यस्तै, उपकुलपतिका लागि अन्य दाबेदारमा प्रा.डा. सुनील अर्याल, प्रा.डा. लालु पौडेल र डा. चिरञ्जीबी रेग्मीको नाम पनि चर्चामा छ । लामो समयदेखि वैज्ञानिक अध्ययन अनुसन्धानका क्षेत्रमा काम गरेका लामिछानेलाई उपकुलपति बनाइनुपर्ने नास्ट र विज्ञान तथा प्रविधि मन्त्रालयका धेरै विज्ञहरूको मत छ । नास्टमा हाल पीएचडी गरेका २५ जना वैज्ञानिकसहित सय जनाभन्दा बढीको जनशक्ति छ ।
''वायोटेक्नोलोजीको उपयोग र औद्योगिकीकरणका लागि वायोटेक्नोलोजीकै विशेषज्ञले पद सम्हाल्दा नास्टको विकासमा सहयोगी हुने वैज्ञानिकहरूको विश्वास छ ।''
नयाँ उपकुलपति चयनका लागि प्रधानमन्त्रीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री (सहकुलपति) को अध्यक्षतामा तीन सदस्यीय समिति बनाउने नास्टका वरिष्ठ प्राविधिज्ञ डा. सुरेश ढुङ्गेलले बताए । समितिका दुई जना सदस्य प्राज्ञ सभाबाट राखिने गरिएको उनले बताए । सो समितिले विज्ञान तथा प्रविधिका क्षेत्रमा विशिष्ट योगदान पुर्याएका तथा क्षमता भएका व्यक्तिलाई उपकुलपतिका लागि सिफारिश गर्छ । सिफारिश भएका व्यक्तिहरूमध्यबाट कुलपति (प्रधानमन्त्री) ले एक जनालाई नियूक्त गर्ने कानूनी व्यवस्था छ । हाल देशमा दुईतिहाइ बहुमतको सरकार भएकाले खुल्ला प्रतिस्पर्धाबाटै उपकुलपतिको छनोट गरिने चर्चा पनि चलेको छ ।
वैज्ञानिक अनुसन्धानलाई जबसम्म उद्योगसम्म पु¥याइँदैन, तबसम्म नेपालजस्ता अति कम विकसित मुलुकमा विज्ञान तथा प्रविधिको कुरा गर्नु निरर्थक हुन्छ । चार दशक लामो इतिहासमा नास्टले एउटा पनि आफ्नो अनुसन्धानलाई औद्योगिकीकरण गर्न सकेको छैन । रोजगारी सुनिश्चित नभई युवाहरू विज्ञानको अध्ययन÷अनुसन्धानमा आकर्षित हुन सक्दैनन् । यही विषयलाई नास्टले बुझ्न सकेको देखिँदैन । अब नयाँ आउने उपकुलपतिले नास्टलाई यसतर्फ अगाडि बढाएमा नास्टको उचाइ अझै बढ्न देखिन्छ । वायोटेक्नोलोजीको उपयोग र औद्योगिकीकरणका लागि वायोटेक्नोलोजीकै विशेषज्ञले पद सम्हाल्दा नास्टको विकासमा सहयोगी हुने वैज्ञानिकहरूको विश्वास छ ।
चीन र भारतमा विज्ञानका क्षेत्रमा भएको औद्योगिकीकरणलाई दाँजेर हेर्दा नेपालले अब वायोटेक्नोलोजी र केमिकल क्षेत्रमा अध्ययन र अनुसन्धानलाई तीव्रता दिनुपर्ने देखिन्छ । नेपालमा नास्टले विज्ञान तथा प्रविधिका क्षेत्रमा अनुसन्धान मात्र गर्छ । यसले चाइनिज ʽएकेडेमी अफ साइन्सेसʼ र भारतीय ‘काउन्सिल अफ साइन्टिफिक एण्ड इण्डष्ट्रियल रिसर्च’ को जस्तो शैक्षिक कार्यक्रम सञ्चालन गर्दैन । त्यसैले अब नास्टको दायरा फराकिलो बनाउन यसको वर्तमान संरचना खारेज गरेर डिम युनिभर्सिटीको मोडेलमा जानुपर्ने विज्ञहरूको सुझाव छ । यसैबाट मात्र विज्ञानलाई उद्योगसम्म पुर्याउन सहज हुने उनीहरूको भनाइ छ । नेपालमा हाल १ सय ९ वटा कलेजमा विज्ञान तथा प्रविधिसम्बन्धी पठनपाठन हुन्छ ।