धितोपत्र विनियमावली पारित, आज मात्रै नौ कम्पनीको शेयर नेप्सेमा सूचिकृत |
काठमाडौं । नयाँ आर्थिक वर्ष लागेदेखि नै सूचिकृत हुन नसकेको करोडौं कित्ता शेयर अन्ततः सूचीकरण गर्ने बाटो खुलेको छ । नेपाल स्टक एक्सचेञ्जले ‘धितोपत्र सूचीकरण विनियमावली, २०७५’ तथा ‘धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५’ पारित गरेको छ । बुधवार ती दुवै विनियमावली पारित भएसँगै शेयर सूचीकरणको बाटो खुलेको हो ।
पुरानो विनियमावली खारेज भइसकेर पनि नयाँ पारित हुन नसक्दा नयाँ आर्थिक वर्षको शुरूदेखि नै नेप्सेले शेयर सूचीकरण गरेको थिएन ।
विनियमावली पारित भएसँगै आज मात्र नौ कम्पनीको शेयर सूचीकृत भएको नेपाल स्टक एक्सचेञ्जले जानकारी दिएको छ । आज एकै दिन सिद्धार्थ बैंक, कर्णाली डेभलपमेन्ट बैंक, नाडेप लघुवित्त, मिर्मिरे माइक्रोफाइनान्स, हिमालयन बैंक, एनएमबी बैंकलगायतका संस्थाको कुल ४ करोड ४१ लाख भन्दा बढी कित्ता शेयर सूचीकरण भएको नेप्सेका सीईओ साउदले जानकारी दिए ।
उनका अनुसार हिमालयन बैंकको १ करोड ६२ लाख २९ हजार ५९ कित्ता बोनस शेयर सूचीकरण भएको छ । एनएमबी बैंकले पूँजी वृद्धिका लागि निष्कासन गरेको १ करोड १४ लाख १५ हजार १ सय ६३ कित्ता एफपीओ पनि सूचीकरण भएको छ । सिद्धार्थ बैंकको ९५ लाख ५६ हजार ५ सय ६४ कित्ता बोनस शेयर पनि सूचीकरण भएको छ ।
त्यसैगरी, कर्णाली डेभलपमेण्ट बैंकको ३३ लाख ९७ हजार ५ सय कित्ता, कावेली विकास बैंकको ९ लाख १२ हजार ९ सय १२ कित्ता, मिर्मिरे लघुवित्तको १ लाख ३८ हजार ६ सय कित्ता, सूर्योदय लघुवित्तको ७६ हजार कित्ता, हाम्रो विकास बैंकको ३ लाख ३४ हजार ८ सय ८८ र भार्गव विकास बैंकको २१ लाख १२ हजार २ सय कित्ता शेयर बुधबार सूचीककरण भएको छ ।
बाँकी अन्य कम्पनीहरूको पनि बिहीबारसम्ममा सूचीकरण हुने नेप्सेले बताएको छ ।