सबै स्थानीय तहमा बैंक शाखा पुर्याउने सरकारको लक्ष्य असफल | अझै १ सय १६ स्थानीय तह बैंकविहीन
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले सबै स्थानीय तहमा बैंक वाणिज्य बैंकको शाखा पुर्याउने लक्ष्य भेट्न सरकार असफल भएको बताएका छन् । उनले सबै वाणिज्य बैंकहरूलाई दिइएको समयसीमा सकिएको एक महिना नाघिसक्दा समेत अझै १ सय १६ वटा स्थानीय तहमा बैंक पुग्न नसकेको खुलासा गरेका छन् । उनले मंगलबार अर्थ समितिमा त्यस्तो खुलासा गरेका हुन् । उनले बैंक पुग्न नसकेका बाँकी स्थानीय तहमा पनि बैंक पुर्याउन छिट्टै अर्को निर्देशन दिइने बताए ।
राष्ट्र बैंकको तथ्यांकअनुसार गतआवको अन्त्यसम्ममा क, ख, ग र घ वर्गका बैंक तथा वित्तीय संस्थाहरूको शाखा सञ्जाल हालसम्म ६ हजार ६ सय ५१ वटा पुगेको छ । अघिल्लो आवसम्म जम्मा ५ हजार ६८ वटा मात्रै रहेकोमा गतआवमा मात्र १ हजार ५ सय ८३ वटा शाखा थपिएर उक्त संख्या पुगेको गभर्नर नेपालले बताए ।
बाँकी स्थानीय तहमा कहिले पुग्ला वाणिज्य बैंक ?
राष्ट्र बैंकले गतआवको अन्त्यसम्ममा नै सबै स्थानीय तहमा शाखा खोल्न वाणिज्य बैंकहरुलाई निर्देशन दिए पनि उक्त निर्देशन कार्यान्वयन भएको छैन । निर्देशन पालना नभएकोमा राष्ट्र बैंक अहिलेसम्म केह पनि बोलेको छैन । राष्ट्र बैंक पनि बाँकी स्थानीय तहहरुमा कहिले बैंक शाखा पुग्छन् भनेर बताउन सक्ने अवस्थामा छैन । किनभने भौगोलिक विकटता र कतिपय स्थानीय तहहरुमा अत्यावश्यक भौतिक पूर्वाधारसमेत नहुँदा बैंकहरूले तोकिएको समयमा शाखा विस्तार गर्न नसकेको राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेल बताउँछन् । उनले कहिलेसम्म सबै तहमा बैंक पुग्छन् भनेर यकिन गर्न नसकिने बताए ।