न्यूरोडमा पाँचतल्ले पार्किङ भवन बन्दै | निर्माण र सञ्चालन निजीक्षेत्रले गर्ने, एक हप्ताभित्रै सूचना
काठमाडौं । व्यापारिक दृष्टिकोणले अत्यन्त ब्यस्त काठमाडौंको असन, इन्द्रचोक र वसन्तपुर क्षेत्रको पार्किङ समस्यालाई दृष्टिगत गरेर महानगरपालिकाले न्यूरोडमा ‘अटोमेटेड भर्टिकल पार्किङ’ निर्माण गर्ने निर्णय गरेको छ । महानगरपालिकाले सार्वजनिक–निजी साझेदारीमा झण्डै ५ सय सवारी पार्किङ गर्न मिल्ने भर्टिकल पार्किङको निर्माण कम्पनी छान्न एक हप्ताभित्रै आशयपत्रका लागि सूचना निकाल्ने जानकारी दिएको छ ।
न्यूरोड क्षेत्रको पार्किङ समस्यालाई उक्त भटिकल पार्किङले धेरै हदसम्म समस्यासमाधान गर्ने महानगरपालिकाको विश्वास छ । साथै काठमाडौंका असन, इन्द्रचोक र वसन्तपुर क्षेत्रमा जानेहरूका लागि बदब बन्ने पार्किङ धेरै उपयोगी हुने महानगरले बताएको छ ।
महानगरका अनुसार निर्माण कम्पनीको सर्ट लिस्टिङ गरेपछि प्राविधिक र आर्थिक क्षमता हेरेर निर्माणको जिम्मा लगाइनेछ । महानगर आफैं भने यो परियोजनामा लगानी गर्ने योजनामा छैन । निजी कम्पनी छनोट गर्ने र उसैलाई लगानी गर्न लगाउने योजना रहेको छ । निश्चित अवधिसम्म निर्माण गर्ने कम्पनीले नै सञ्चालन गरेपछि महानगरलाई हस्तान्तरण गर्नेछ । धर्मपथको महानगरको आफ्नै जग्गामा पार्किङ भवन निर्माण हुनेछ ।