प्रभु बैंकको उच्च व्यवस्थापनमा दुई जना युवा बैंकर | सीओओमा थकाली, सीसीओमा लम्साल नियुक्त

काठमाडौ । प्रभु बैंक लिमिटेडको उच्च व्यवस्थापनमा दुई जना युवा बैंकर थपिएका छन् । बैंकको प्रमुख सञ्चालन अधिकृत (सीओओ) मा दिनेश थकाली र चिफ क्रेडिट अफिसर (सीसीओ) मा निरज लम्साल नियुक्त भएका हुन् । सीओओ थकालीले भदौ १ गतेदेखि र सीसीओ लम्सालले भदौ ४ गतेदेखि कार्यभार सम्हालेको बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बताए ।
३२ वर्षको उमेरमै तत्कालीन सांग्रिला डेभलपमेण्ट बैंकमा प्रमुख कार्यकारी अधिकृत रहिसकेका थकाली बागेश्वरी र सांग्रिला गाभिएपछि भने डेपुटी सीईओको भूमिकामा थिए । त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर तथा कानूनमा स्नातकको अध्ययन पूरा गरेका थकालीले सांग्रिलाबाट म्यानेजमेण्ट ट्रेनीको रूपमा बैकिङ करियर शुरू गरेका हुन् ।
नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघका पूर्वमहासचिवसमेत रहेका उनले लण्डन स्कूल अफ इकोनोमिक्स, लण्डन, विश्व बैंक, वासिङ्टन, हिडा, जापान, एआईटी, थाइल्याण्ड, फिच्ट लर्निङ, सिंगापुरलगायतका प्रतिष्ठित संस्थाहरूबाट बैंकिङ तथा व्यवस्थापनसम्बन्धी विभिन्न विधामा अध्ययन तथा तालीम लिएका छन् ।
त्यसैगरी, चिफ क्रेडिट अफिसरमा नियुक्त लम्साल यसअघि नेपाल बंगलादेश (एनबी) बैंकको सिनियर म्यानेजर तथा कर्पोेरेट अफिसको ब्राञ्च म्यानेजर थिए । उनीसँग १९ वर्षसम्मको बैंकिङ अनुभव छ । पछिल्लो अढाइ वर्ष उनले एनबीमा सिनियर म्यानेजरको रूपमा काम गरेका थिए । त्रिभुवन विश्वविद्यालयबाट एमबीएसम्मको अध्ययन पूरा गरेका लम्साल सन् १९९९ मा एनबी बैंकमा म्यानेजमेन्ट ट्रेनीको रूपमा बैंकिङ करिअरमा लागेका हुन् ।
सीईओ शेरचनले दुई जुझारु युवा बैंकरको आगमनले बैंकलाई नयाँ उचाइमा पुर्याउन ठूलो मद्दत पुग्ने बताए ।