सबै प्रदेशमा सञ्चारग्राम स्थापना गर्छौः सञ्चारमन्त्री बास्कोटा |

काठमाडौं । सरकारले यसै वर्षको बजेटमा सबै प्रदेशमा सञ्चार ग्राम स्थापना गर्ने गरी बजेटको ब्यवस्था गरेको छ । संघीय संसद विकास तथा प्रविधि समितिको सोमबारको बैठकमा बोल्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले भने, ʽपत्रकारहरुलाई दक्ष बनाउन आवश्यक प्रशिक्षणसहितको कार्यक्रम सञ्चालन हुने गरी सञ्चारग्राम स्थापना गर्न लागेका छौ ।ʼ
समितिका सदस्यहरुले सबै नागरिकको पहुँचमा पुग्ने गरी सूचनाको व्यवस्था गर्न मन्त्री बास्कोटाको ध्यानाकर्षण गराएका थिए । समितिका सदस्य एवम पूर्व प्रधानमन्त्री झलनाथ खनालले सबै नागरिकको पहुँचमा पुग्ने गरी सूचना प्रविधिको विकास गर्न सरकारलाई सचेत गराए । उनले विकास र निर्माणको कामलाई स्वच्छ ढंगले सम्पादन गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए ।
नेपाल टेलिकमको सेवालाई गुणस्तरीय बनाउने प्रतिवद्धता मन्त्री बास्कोटाले व्यक्त गरे । विराटनगर, बुटवल, नेपालगञ्जलगायतका देशका मुख्यमुख्य सहरमा फोरजी सेवा सञ्चालनमा ल्याउने योजना रहेको उनले बताए ।
समितिले स्थानीय सरकारलाई प्रविधि विकासका लागि आवश्यक बजेटको व्यवस्था गरिदिन पनि सरकारको गम्भिर ध्यानाकर्षण गराएका थिए ।