ठूलो आवाज निकाल्ने मोटरसाइकल उपत्यकामा कुदाउन नपाइने |
काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ठूलो आवाज निकाल्ने मोटरसाइकललाई काठमाडौं उपत्यकाभित्र सञ्चालनमा कडाइ गरेको छ । ठूलो आवाजका कारण आम सर्वसाधारणले समस्या व्यहोर्नु परेको निष्कर्षसहित ट्राफिकले ती मोटरसाइकलहरुमा कडाइ गरेकोे हो ।
ट्राफिक प्रहरीका अनुसार कतिपय मोटरसाइकल कम्पनीबाट आउँदै ठूलो आवाज निस्किने डिजाइनमा बनेका हुन्छन । ती मोटरसाइकलहरु ‘रेसिङ’ र पहाडी क्षेत्रमा कुदाउनका लागि बनेका हुन। यद्यपि, उपत्यकामा त्यस्ता मोटरसाइकलहरु कुदाइने गरिएको छ ।
मोटरसाइकलहरुबाट निस्कने ध्वनीका कारण कतिपय अपाङ, असशक्त एवं बिरामीहरु तर्सिने गरेका छन् । ठूलो आवाजमा बाइक आउँदा के रहेछ भनेर हेर्दा समेत दुर्घटना हुने गरेको ट्राफिक महाशाखाको भनाई छ ।
ट्राफिक महाशाखाका अनुसार त्यसरी ठूला आवाज निकाल्ने मोटरसाइकलमा डुकाटी, क्रसफायर, बुलेट, बेनेली, आरएक्स लगायत छन् । महाशाखाले अस्वभाविक आवाज निकाल्ने मोटसाइकललाई उपत्यकामा सञ्चालनका लागि अनुमति नदिन यातायात व्यवस्था विभागलाई पत्रचार समेत गरिसकेको छ ।