फ्याक्ट र सेजनबीच फेलोशिप सम्झौता |
काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज (सेजन) र फ्याक्ट रिसर्च एण्ड एनालिटिक्स रिसर्च कम्पनीबीच ‘स्व. सञ्जय न्यौपाने आर्थिक अनुसन्धान फेलोसीप’ सम्झौता भएको छ । आर्थिक अनुसन्धान तथा तथ्यगत समाचारलाई प्रवद्र्धन गर्न सेजन सदस्यलाई फेलोसिप उपलब्ध गराउने सम्झौता गरिएको हो ।
उक्त सम्झौतामा सेजनका अध्यक्ष पुष्पराज आचार्य र कम्पनीका महाप्रबन्धक मनीष झाले सोमवार हस्ताक्षर गरेका हुन् । फेलोसिपका लागि शुरुवातमा कम्पनीले वार्षिक ५० हजार रुपैयाँ सेजनलाई उपलब्ध गराउनेछ भने प्रत्येक वर्ष १० प्रतिशत रकम वृद्धि गरिने उल्लेख गरिएको छ । कम्पनीका महाप्रबन्धक मनीष झाले पत्रकार न्यौपानेले अनुसन्धानमा देखाउने चासोलाई कदर गर्दै फेलोसिप दिन थालिएको बताए । तथ्यमा आधारित पत्रकारितालाई प्रवद्र्धन गर्न हरेक वर्ष सेजन सदस्यमध्ये एक जनलाई फेलोशिप दिइने झाले बताए ।
उक्त फेलोशिपका लागि सेजनका पूर्वअध्यक्ष, कम्पनीका महाप्रबन्धक तथा सेजनका अध्यक्ष अथवा कार्यसमितिबाट अध्यक्षले तोकेका व्यक्ति रहने गरी एक मूल्यांकन समिति गठन गर्ने व्यवस्था गरिएको छ ।