प्राइम बैंकद्वारा ओम डेभलपमेण्ट बैंकको प्राप्ति |
काठमाडौं (आपास) । प्राइम कमर्सियल बैंकले ‘ख’ वर्गको वित्तीय संस्था ओम डेभलपमेण्ट बैंकलाई प्राप्ति गरेको छ । सोसम्बन्धी सम्झौतापत्रमा प्राइम कमर्सियल बैंकका तर्फबाट सञ्चालक समितिका अध्यक्ष उदयमोहन श्रेष्ठ र ओम डेभलपमेन्ट बैंकका तर्फबाट सञ्चालक समितिका अध्यक्ष सुशीलकुमार गोशलीले आइतवार हस्ताक्षर गरेका हुन् ।
प्राइम बैंकले कृषि क्षेत्रमा वित्तीय स्रोतको पहुँच बढाउन, रोजगारी सिर्जना गर्न, सवल बैंकको रूपमा उभिएर मुलुकको समग्र आर्थिक विकासमा सहभागिता बढाउने उद्देश्यले ओम डेभलपमेण्ट बैंकलाई प्राप्ति गरेको हो ।
ओम डेभलपमेन्ट बैंकलाई प्राप्ति गरेपश्चात् प्राइम कमर्सियल बैंकको कुल शाखा संख्या ११६ हुनेछ । साथै, असार मसान्तको वित्तीय विवरणअनुसार कुल निक्षेप १ खर्बभन्दा बढी र कर्जा ८९ अर्बभन्दा बढी हुने भएको छ ।