सन नेपाल लाइफ इन्स्योरेन्स र एनसीसी बैंकबीच बैंकासुरेन्स सम्झौता |
काठमाडौ (आपास) । सन नेपाल लाइफ इन्स्योरेन्स र एनसीसी बैंकबीच बैंकासुरेन्स सेवासम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा सन नेपाल लाइफको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले हस्ताक्षर गरेका हुन् ।
उक्त सम्झौतासँगै अब एनसीसी बैंकका सम्पूर्ण शाखाबाट सन नेपाल लाइफको बीमा शुल्क भुक्तानी गर्न, बीमालेख लिन तथा बीमा दाबी भुक्तानीलगायतका सम्पूर्ण सेवा सहज रुपमा पाउन सकिने बताइएको छ ।
सन नेपाल लाइफले कारोबार शुरु गरेको ९ महिनाभित्र २०७५ आषाढ मसान्तसम्ममा वैदेशिक रोजगार बीमाबाहेक विभिन्न ११ प्रकारका बीमा योजनामा ९८२१ पोलिसी बिक्री गरी कुल रू. २९ करोड ६९ लाख ७५ हजार छ सय ६५ रुपैँया प्रिमियम संकलन गर्न सफल भइसकेको छ । कम्पनीले निकट भविष्यमा आफ्नो चुक्तापूँजी २ अर्ब पुर्याउन ६० करोड मुल्यकोे आईपीओ निष्कासन गर्ने तयारीमा छ ।