नेपाल ग्याँसको कम्पोजिट सिलिण्डर बजारमा | बाहिरबाटै ग्यास हेर्न मिल्ने सिलिन्डरकको मूल्य १० हजार ६ सय
काठमाडौं । नेपाल ग्याँस उद्योगले कम्पोजिट एलपि ग्याँस सिलिण्डर बजारमा ल्याएको छ । नयाँ ब्राण्ड लाइट सेफ नामका सिलिण्डर नेपाल ग्याँसले बिक्री गर्नेछ । कम्पनीले प्रति सिलिन्डर ग्याँसको मूल्य १० हजार ६ सय रुपैंया तोकेको छ । यो ग्याँस सिलिण्डर सबै परिक्षण गरेर आगलागिका बेलामा पनि बिस्फोटन नहुने गरी प्रमाणित गरिएकाले शतप्रतिशत सुरक्षित रहेको कम्पनीको भनाई छ ।
ग्याँस सिलिण्डर बिस्फोटको खतरालाई अन्त्य गर्न नेपाल ग्याँस उद्योगले कम्पोजिट एलपि ग्याँस सिलिण्डर बजारमा ल्याएको जानकारी दिएको छ । सिलिण्डर पारदर्शी भएकाले यसमा ग्याँसको मात्रा कति छ भनेर हेर्न सकिन्छ । यो खिया प्रतिरोधात्मक रहेको कम्पनीले जानकारी दिएको छ । यो सिलिन्डर विकशित देशका परीक्षण निकायबाट मजबुत प्रमाणित भइ सकेको बताइएको छ । साथै नेपाल नापतौल तथा गुणस्तर विभागबाट समेत स्वीकृति तथा प्रमाणीकरण गरेको छ ।
परम्परागत सिलिण्डरको तुलनामा बलियो भएकाले यसलाई मेनटेनेन्स गरिरहनु नपर्ने कम्पनीको दाबी छ । यो सिलिण्डरको तौल फलामे सिलिण्डरको तुलनामा आधा भन्दा कम रहेको छ । यसमा भएको ह्याण्डल रिङले यसलाई उचाल्न सजिलो बनाउने कम्पनीले जानकारी दिएको छ ।
बर्षेनी नेपालमा ग्याँस सिलिण्डर बिस्फोट भएर ज्यान नै गुमाउनुपर्ने, धन सम्पती क्षति हुने अवस्था बढ्दै गएको सन्र्दभमा कम्पोजिट ग्याँस विकल्प हुने कम्पनीको भनाई रहेको छ । फलामको सिलिण्डरमा बिस्फोटको खतरा हुने, सिलिण्डरमा २ केजी लेदो तल जम्ने, अपारदर्र्शीका साथै ग्याँसको मात्रा देख्न नसकिने हुँदा पुरानो प्रविधिलाई हटाउन खोजिएको छ । फलामको सिलिण्डरमा रहेको ग्याँस शून्य डिग्री सेल्सियसमा जम्नेमा कम्पोजिट सिलिण्डरमा माइनस ४० डिग्रीसम्म ग्याँस नजम्ने कम्पनीले जानकारी दिएको छ ।
नेपाल आयाल निगमले पनि सबै ग्याँस बोटलिङ कम्पनीलाई अनिवार्य रूपमा ५ प्रतिशत कम्पोजिट सिलिण्डर बेच्नुपर्ने नियम बनाउने तयारी गरिरहेको छ । अहिले नेपालमा ७८ लाख भन्दा बढी फलामे सिलिण्डर छन् ।